एज्रा 3
3
वेदीको पुनर्निर्माण
1सातौँ महिना लाग्दा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए। तब मानिसहरू एउटै मानिसझैँ भएर यरूशलेममा भेला भए। 2तब परमेश्वरका जन मोशाको व्यवस्थामा लेखिएअनुसार होमबलि चढाउनलाई योसादाकका छोरा येशूआ र तिनका सह पुजारीहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका मित्रहरू मिलेर इस्राएलका परमेश्वरको वेदी निर्माण गर्न सुरु गरे। 3वरिपरिका मानिसहरूको डर तिनीहरूमा भए तापनि तिनीहरूले पुरानो भवन भएकै जगमाथि वेदी बनाए। अनि याहवेहलाई बिहान र बेलुकी दुवै समय होमबलि चढाए। 4त्यसपछि लेखिएको नियमअनुसार प्रत्येक दिन चढाउनुपर्ने होमबलिको संख्याअनुसार होमबलि चढाएर तिनीहरूले छाप्रोबासको चाड मनाए। 5त्यसपछि तिनीहरूले नियमित होमबलि, औँसीको बलिदान र याहवेहका निम्ति तोकिएका सबै चाडहरूका निम्ति बलिदानहरू चढाए, साथसाथै ल्याइएका स्वेच्छा-भेटीहरू पनि चढाए। 6सातौँ महिनाको पहिलो दिनदेखि नै तिनीहरूले याहवेहलाई होमबलि चढाउन थाले। तापनि याहवेहको मन्दिरको जग अझ बसालिएकै थिएन।
मन्दिरको पुनर्निर्माण
7त्यसपछि तिनीहरूले सिकर्मी र डकर्मीहरूलाई रकम दिए। तिनीहरूले परसीयाका राजा कोरेसको अनुमतिमा लेबनानबाट देवदारुका काठहरू समुद्रको बाटो भएर जोप्पासम्म ल्याउन सकून् भनी सीदोन र टायरका मानिसहरूलाई खानेकुरा, पिउने कुरा र जैतुनको तेल दिए।
8दोस्रो वर्षको दोस्रो महिनामा तिनीहरू परमेश्वरको पुरानो भवन भएको ठाउँ यरूशलेममा आइपुगे। अनि शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूआ र उनीहरूका बाँकी दाजुभाइहरूले (पुजारीहरू, लेवीहरू र कैदबाट यरूशलेममा फर्कनेहरू सबै) काम सुरु गरे। तिनीहरूले बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई याहवेहको भवन निर्माणको कामको रेखदेख गर्नलाई नियुक्त गरे। 9तब येशूआ, तिनका छोराहरू, तिनका दाजुभाइहरू, कदमिएल र तिनका छोराहरू (होदबियाका#3:9 मूल भाषामा उनको अर्को नाम यहूदाह सन्तानहरू), हेनादादका छोराहरू र भाइहरू—सबै लेवीहरू एकसाथ मिलेर परमेश्वरको भवनमा काम गर्नेहरूको रेखदेख गरे।
10जब डकर्मीहरूले याहवेहको मन्दिरको जग बसाले, तब पुजारीहरूले आफ्नो पोशाकको साथमा तुरहीहरू लिए; अनि लेवीहरू अर्थात् आसापका छोराहरूले चाहिँ खैँजडीहरू लिएर इस्राएलका राजा दावीदले बताएअनुसार याहवेहको प्रशंसा गर्न आ-आफ्ना स्थानहरू लिए। 11तिनीहरूले प्रशंसा र धन्यवादका साथमा याहवेहलाई यसो भनी स्तुति गरे:
“उहाँ भलो हुनुहुन्छ;
इस्राएलप्रतिको उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।”
अनि सारा मानिसहरूले चर्को सोरले याहवेहको प्रशंसा गरे; किनकि याहवेहको भवनको जग बसालिएको थियो। 12तर वृद्ध पुजारीहरू, लेवीहरू र परिवारका मुखियाहरू, जसले पुरानो मन्दिर देखेका थिए, तिनीहरू यो मन्दिरको जग बसालिएको देखेर ठूलो सोरले रोए। तर अरू धेरै मानिसहरूले चाहिँ हर्षले सोर उचालेर जयजयकार मनाए। 13इस्राएलीहरूको हर्षको आवाज र रुवाइको आवाज कसैले पनि छुट्याउन सकेन। किनकि तिनीहरूले चर्को सोर निकालेका थिए। तिनीहरूको आवाज टाढा-टाढासम्म सुनिएको थियो।
अहिले सेलेक्ट गरिएको:
एज्रा 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.