इजकिएल 18
18
पाप गर्ने मानिस मर्नेछ
1याहवेहको वचन मकहाँ आयो: 2“इस्राएल देशको बारेमा मानिसहरूले भनेका यस उखानको अर्थ के हो?
“ ‘अमिलो अङ्गुर खाने बुबाआमा,
र दाँत कुँडिने छोराछोरी’!
3“म जीवित भएझैँ, प्रभु याहवेह भन्नुहुन्छ, तिमीहरूले अब उसो इस्राएलमा यो उखान कहिल्यै भन्नेछैनौ। 4किनकि हेर, हरेक जीवित प्राणी मेरै हो, बुबाआमा र छोराछोरी—ती दुवै मेरै हुन्। जसले पाप गर्छ, त्यही मर्नेछ।
5“उदाहरणको लागि एक जना न्यायसङ्गत
र ठिक काम गर्ने धर्मी मानिस छ।
6त्यसले पर्वतको देवस्थानहरूमा खाँदैन,
अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन।
त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन,
अथवा कुनै स्त्रीको महिनावारीको समयमा त्यस स्त्रीसित यौन सम्पर्क गर्दैन।
7त्यसले कसैलाई पनि अत्याचार गर्दैन,
तर त्यसले ऋणको निम्ति लिएको बन्धक फर्काइदिन्छ।
त्यसले लुटपाट गर्दैन,
तर त्यसले भोकाएकाहरूलाई आफ्नो भोजन दिन्छ,
र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
8त्यसले मानिसहरूलाई व्याजमा ऋण दिँदैन,
अथवा तिनीहरूबाट फाइदा लिँदैन।
त्यसले आफ्ना हातहरू खराबी गर्नबाट रोक्छ,
र त्यसले मानिसहरूको दुई समूहको बीचमा ठिक न्याय गर्छ।
9त्यसले मेरा उर्दीहरू पालन गर्छ,
र मेरा व्यवस्थाहरू विश्वासयोग्यतासाथ मान्छ।
त्यो मानिसचाहिँ धर्मी हो;
त्यो निश्चय नै जीवित रहनेछ,
प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
10“मानौँ त्यसको एउटा हिंसात्मक छोरा छ, जसले रक्तपात गर्छ; यी कामहरूमध्ये अरू खराबी कुराहरू पनि गर्छ, 11(यद्यपि त्यसका बुबाले चाहिँ यी खराब कामहरूमध्ये एउटै पनि गरेनन्):
“त्यसले पर्वतका देवस्थानहरूमा खान्छ।
त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्छ।
12त्यसले गरिब र खाँचोमा परेकाहरूलाई अत्याचार गर्छ,
त्यसले लुटपाट गर्छ।
त्यसले ऋणको निम्ति आफूले बन्धक लिएको कुरो फर्काउँदैन,
त्यसले मूर्तिहरूतिर हेर्छ।
त्यसले घिनलाग्दा कामहरू गर्छ।
13त्यसले रकम ब्याजमा दिन्छ र फाइदा लिन्छ।
के यस्तो मानिस जीवित रहला र? त्यो जीवित रहनेछैन! त्यसले यी सबै घिनलाग्दा कामहरू गरेको कारण त्यो निश्चय नै मारिनैपर्छ; त्यसको रगतको दोष त्यसको आफ्नै टाउकोमा हुनेछ।
14“अब मानौँ त्यस मानिसको एउटा छोरा छ, जसले आफ्नो बुबाले गरेका सबै पापहरू देख्छ; अनि त्यसले ती देखे तापनि यस्ता कुराहरू गर्दैन:
15“त्यसले पर्वतका देवस्थानहरूमा खाँदैन,
अथवा इस्राएलका मूर्तिहरूलाई हेर्दैन।
त्यसले आफ्नो छिमेकीकी पत्नीलाई अशुद्ध पार्दैन।
16त्यसले कसैलाई पनि अत्याचार गर्दैन,
अथवा ऋणको निम्ति बन्धक लिँदैन।
त्यसले लुटपाट गर्दैन,
तर त्यसले भोकाएकाहरूलाई आफ्ना भोजन दिन्छ,
र नाङ्गाहरूलाई लुगाफाटा जुटाइदिन्छ।
17त्यसले गरिबहरूलाई गलत व्यवहार गर्नबाट आफ्ना हात रोक्छ
र रकमको ब्याज लिँदैन अथवा फाइदा लिँदैन।
त्यसले मेरा आज्ञाहरू पालन गर्छ र मेरा उर्दीहरू मान्छ।
त्यो आफ्नो बुबाको पापको कारण मर्नेछैन; त्यो निश्चय नै जीवित रहनेछ। 18तर त्यसको बुबा आफ्नै पापको कारण मर्नेछ; किनकि त्यसले जबरजस्तीसँग खराब गरेको छ, र आफ्ना दाजुभाइलाई लुटेको छ; अनि आफ्ना मानिसहरूका बीचमा जुन कुरा खराब थियो, त्यही गरेको छ।
19“तापनि तिमीहरू सोध्छौ, ‘त्यो छोरा आफ्नो बुबाको दोषको सहभागी किन भएन?’ त्यो छोराले जे न्यायसङ्गत र ठिक थियो, त्यही गर्यो; अनि मेरा उर्दीहरू होसियारीसाथ पालन गरेको कारण त्यो निश्चय नै जीवित रहनेछ। 20जसले पाप गर्छ, त्यही मर्नेछ। छोराछोरीले बुबाआमाको दोषको दण्ड भोग्नेछैनन्, न त बुबाआमाले छोराछोरीको दोषको दण्ड भोग्नेछन्। धर्मीले आफ्नो धार्मिकताको फल, र दुष्टहरूले तिनीहरूको दुष्टताको परिणाम पाउनेछन्।
21“तर यदि कुनै दुष्ट मानिस आफूले गरेका सबै पापहरूबाट फर्कन्छ, र त्यसले मेरा सबै उर्दीहरू पालन गर्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यो निश्चय नै जीवित रहनेछ, त्यो मर्नेछैन। 22त्यसले गरेका कुनै पनि अपराधको सम्झना त्यसको विरुद्धमा हुनेछैन। त्यसले गरेका धार्मिक कुराहरूको कारण त्यो जीवित रहनेछ। 23के म दुष्टको मृत्युमा खुशी हुन्छु र? प्रभु याहवेह घोषणा गर्नुहुन्छ। बरु के तिनीहरू आफ्ना दुष्ट चालबाट फर्कँदा म खुशी हुँदिनँ र?
24“तर धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर पाप गर्छ, र दुष्ट मानिसले गर्ने त्यही घिनलाग्दा कामहरू गर्छ भने के त्यो जीवित रहला र? त्यसले गरेको कुनै पनि धार्मिक कामहरूको सम्झना हुनेछैन। त्यसले गरेका अविश्वासयोग्यताको दोषको कारण र त्यसले गरेका पापहरूको कारण त्यो मर्नेछ।
25“तापनि तिमीहरू भन्छौ, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलीहरू हो, सुन: के मेरो मार्ग न्यायसङ्गत छैन? के तिमीहरूकै चालहरू बेठीक छैनन् र? 26यदि कुनै धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्याग्छ, र पाप गर्छ भने त्यसको निम्ति त्यो मर्नेछ; त्यसले गरेको पापको कारण त्यो मर्नेछ। 27तर यदि एक जना दुष्ट मानिस आफूले गरेको दुष्टताबाट फर्कन्छ; अनि जे न्यायसङ्गत र ठिक छ, त्यही गर्छ भने त्यसले आफ्नो प्राण बचाउनेछ। 28त्यसले आफूले गरेका सबै अपराधहरू विचार गरेर तीबाट फर्केको कारण, त्यो व्यक्ति निश्चय नै जीवित रहनेछ; त्यो व्यक्ति मर्नेछैन। 29तापनि इस्राएलीहरू भन्छन्, ‘प्रभुको मार्ग न्यायसङ्गत छैन।’ हे इस्राएलका मानिसहरू हो, के मेरा मार्गहरू न्यायसङ्गत छैनन् र? के तिमीहरूकै मार्गहरू बेठीक छैनन् र?
30“यसकारण हे इस्राएलीहरू हो, म हरेकलाई तिमीहरूका आफ्नै चालहरूअनुसार न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। पश्चात्ताप गर! तिमीहरूका सबै अपराधहरूबाट फर्क; तब तिमीहरूको पतनको कारण पाप हुनेछैन। 31तिमीहरूले गरेका सबै अपराधहरूलाई त्यागिदेओ; अनि नयाँ हृदय र नयाँ आत्मा लेओ। हे इस्राएलका मानिसहरू हो, तिमीहरू किन मर्छौ? 32किनकि कसैको पनि मृत्युमा म प्रसन्न हुँदिनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। यसकारण पश्चात्ताप गर, र जीवित रहो!
अहिले सेलेक्ट गरिएको:
इजकिएल 18: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.