मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्लो छेउतिर लगे; अनि तिनी परमेश्वरको पर्वत होरेबमा आए। त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन। अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”
जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्नुभयो, “मोशा! ए मोशा!”
अनि मोशाले भने, “हजुर, म यहाँ छु।”
परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।” तब उहाँले भन्नुभयो, “म तेरा पितापुर्खाका परमेश्वर हुँ; अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्वरलाई हेर्न डराए।
याहवेहले भन्नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्ट साँच्चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ। यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु। अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु। यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”
तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?”
तब परमेश्वरले भन्नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”
मोशाले परमेश्वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?”
परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्नू: ‘म हुँ भन्नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’
“मेरो नाम सदा यही रहन्छ,
र सबै पुस्तासम्म
मेरो नामको सम्झना यही हुनेछ।
“जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वर—अब्राहाम, इसहाक र याकोबका परमेश्वर—मकहाँ देखा परेर भन्नुभयो: मैले तिमीहरूमाथि दृष्टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।