YouVersion लोगो
खोज आइकन

प्रस्थान 26

26
समागम पाल
1“तैँले दश वटा मसिनो गरी बाटेका सुती, निलो, बैजनी र रातो धागोका पर्दाबाट दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरूसहित समागम पाल बनाउनू। 2ती सबै पर्दाहरू एकै नापका होऊन्—अट्ठाइस क्यूबिट लामो र चार क्यूबिट चौडा।#26:2 लगभग 42 फिट लामो र 6 फिट चौडा 3पाँच वटा पर्दाहरू एकसाथ गाँस्‍नू, र अर्को पाँच वटालाई पनि त्यसै गर्नू। 4पहिलो पाँच पर्दाहरूका किनारै किनारमा निलो रङ्गको सुर्काउनी बनाउनू; अनि अर्को पाँच पर्दाहरूका किनारमा पनि त्यस्तै गर्नू। 5एउटा समूहका पर्दामा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को समूहका पाँच वटा पर्दाहरूका किनारमा पचास वटा सुर्काउनी बनाउनू। ती सुर्काउनीहरू आमने-सामने होऊन्। 6तब सुनका पचास वटा अङ्कुसेहरू बनाएर तिनीहरूलाई पर्दाहरू एकसाथ बाँध्ने काममा प्रयोग गर्नू र यसरी समागम पाल एउटै इकाई होस्।
7“समागम पालमाथिको पालको लागि बाख्राको भुत्लाबाट जम्मा एघार वटा पर्दाहरू बनाउनू। 8ती एघारै वटा पर्दाहरू एउटै नापका होऊन्—तीस क्यूबिट लामो र चार क्यूबिट चौडा।#26:8 लगभग 45 फिट लामो र 6 फिट चौडा 9पाँच वटा पर्दाहरू एकसाथ गाँस्‍नू र बाँकी छ वटा पर्दा एकसाथ गाँस्‍नू। पालको अगिल्तिर छैटौँ पर्दालाई दोबर गरी पट्याउनू। 10पहिलो गाँसिएको समूहको किनारमा पचास वटा सुर्काउनीहरू बनाउनू; अनि अर्को गाँसिएको समूहको पर्दाको किनारमा पनि पचास वटा सुर्काउनीहरू बनाउनू। 11त्यसपछि काँसाका पचास वटा अङ्कुसेहरू बनाएर सुर्काउनीहरूमा लगाउनू र पाललाई एउटै एकाइ बनाउनका लागि कस्‍ने काममा प्रयोग गर्नू। 12पालका पर्दाहरूको उब्रेको लम्बाइको विषयमा, उब्रेको आधा पर्दा समागम पालको पछिल्तिर झुण्डियोस्। 13पालका पर्दाहरू दुवै छेउतिर एक क्यूबिट#26:13 लगभग 18 इन्च लामो होऊन् र उब्रेका भाग समागम पाललाई ढाक्नलाई त्यसका दुवै छेउमा झुण्डिरहून्। 14पालको निम्ति भेडाको रातो रङ्गाइएको छालाबाट छत बनाउनू; र त्यसमाथि सीलका छालाहरूबाट छत बनाउनू।
15“समागम पालका निम्ति बबुल काठको ठाडो फल्याकहरू बनाउनू। 16प्रत्येक फल्याकको लम्बाइ दश क्यूबिट र चौडाइ डेढ क्यूबिट#26:16 लगभग 15 फिट लामो र 27 इन्च चौडा होस्। 17त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू होऊन्। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाउनू। 18समागम पालको दक्षिणपट्टिका लागि बीस वटा फल्याकहरू बनाउनू; 19अनि ती फल्याकहरूका मुन्तिर चालीस वटा चाँदीका आधारहरू बनाउनू—एउटा फल्याकको लागि दुई वटा आधारहरू, प्रत्येक चोसाको मुनि एउटा। 20अर्कोपट्टि समागम पालको उत्तरपट्टि बीस वटा फल्याकहरू बनाउनू; 21अनि प्रत्येक फल्याकको मुनि दुई वटा आधार गरेर चाँदीका चालीस वटा आधारहरू बनाउनू। 22पछिल्तिरको भाग, जो समागम पालको पश्‍चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाउनू; 23अनि अन्तिम भागमा भएका कुनाहरूका लागि दुई वटा फल्याकहरू बनाउनू। 24यी कुनाहरूमा फेददेखि टुप्पोसम्म फल्याकहरू दोबर खप्टिएका होऊन्; अनि एउटै मुन्द्रामा जोडिएका होऊन्; दुवै यस्तै होऊन्। 25यसरी प्रत्येक फल्याकमुनि दुई वटा गरेर जम्मा आठ वटा फल्याकहरू र चाँदीका सोह्र वटा आधारहरू होऊन्।
26“बबुल काठका बारहरू पनि बनाउनू: समागम पालको एकातिरको फल्याकहरूका लागि पाँच वटा, 27अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्‍चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए। 28बीचको बार फल्याकको बीचमा एक छेउदेखि अर्को छेउसम्म पुगोस्। 29फल्याकहरूलाई सुनले मोहोर्नू, र बारहरू अड्काउनका लागि सुनका मुन्द्राहरू बनाउनू। ती बारहरूलाई पनि सुनले मोहोर्नू।
30“मैले तँलाई पर्वतमा देखाएको नमुनाअनुसार समागम पाल खडा गर्नू।
31“निलो, बैजनी अनि रातो धागो र मसिनो गरी बाटेको सुती कपडा; अनि दक्ष शिल्पकारद्वारा बनाइएका करूबहरू भएका एउटा पर्दा बनाउनू। 32चाँदीका चार वटा आधारहरूमा खडा भएका र सुनले मोहोरेका बबुल काठका चार वटा खम्बाहरूमा त्यसलाई सुनका अङ्कुसेहरूले झुण्ड्याउनू। 33पर्दालाई अङ्कुसेले झुण्ड्याएर साक्षी पाटीको सन्दुकलाई पर्दाको पछाडि राख्नू। त्यस पर्दाले पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गर्नेछ। 34महा-पवित्रस्थानमा साक्षी पाटीको सन्दुकको माथि पाप समाधान-स्थान राख्नू। 35टेबुललाई पर्दा बाहिर समागम पालको उत्तरतिर राख्नू; र सामदानलाई त्यसको विपरीततिर दक्षिणपट्टि राख्नू।
36“पाल प्रवेशद्वारका लागि निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाले फूल-बुट्टा भएको एउटा पर्दा बनाउनू। 37त्यस पर्दाका लागि सुनका अङ्कुसेहरू र सुनले मोहोरेका बबुलका पाँच वटा खम्बाहरू बनाउनू; अनि तिनीहरूका लागि काँसाका पाँच वटा आधारहरू बनाउनू।

अहिले सेलेक्ट गरिएको:

प्रस्थान 26: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्