YouVersion लोगो
खोज आइकन

प्रस्थान 14:1-14

प्रस्थान 14:1-14 NCV

तब याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्‍नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्। फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’ अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे। जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्‍यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!” यसकारण तिनले आफ्नो रथ तयार गराए, र आफ्नो सेना आफूसित लिए। तिनले आफ्ना उत्तम रथहरूमध्ये छ सय वटा लिए, र साथमा इजिप्टका अरू सबै रथहरूमाथि पदाधिकारीहरू सवार गराए। याहवेहले इजिप्टका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले साहससित अगि बढिरहेका इस्राएलीहरूलाई खेदे। इजिप्टियनहरू—फारोका सबै घोडाहरू, रथहरू, घोडसवारहरू र सेनाले—इस्राएलीहरूलाई खेदे, र बाल-सेफोनको विपरीत पी-हहीरोतको नजिक समुद्रनिर डेरा हालेर बसेको बेलामा तिनीहरूलाई भेटे। फारो नजिक आइपुग्दा इस्राएलीहरूले आँखा उठाएर हेरे, र इजिप्टियनहरूलाई तिनीहरूको पछि आइरहेका देखे। तिनीहरू साह्रै डराए; अनि याहवेहलाई पुकार गरे। तिनीहरूले मोशालाई भने, “के इजिप्टमा चिहानहरू थिएनन् र तपाईंले हामीलाई यस उजाडस्थानमा मर्न भनी ल्याउनुभयो? हामीलाई इजिप्टबाट यहाँ ल्याएर तपाईंले यो के गर्नुभएको? के हामीले इजिप्टमा तपाईंलाई ‘हामीलाई त्यसै छोडिदिनुहोस्; हामीलाई इजिप्टियनहरूको सेवा गर्न दिनुहोस्’ भनेका थिएनौँ र? यस उजाडस्थानमा मर्नुभन्दा त हामीलाई इजिप्टियनहरूको सेवा गर्नु असल हुनेथियो।” मोशाले मानिसहरूलाई जवाफ दिए, “नडराओ, दृढतासाथ खडा रहो। आज याहवेहले तिमीहरूमा ल्याउनुहुने छुटकारा तिमीहरूले देख्नेछौ। तिमीहरूले आज देखेका इजिप्टियनहरूलाई फेरि कहिल्यै देख्नेछैनौ। याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।”

प्रस्थान 14 पढ्नुहोस्