त्यसैले फारोले तुरुन्तै मोशा र हारूनलाई बोलाएर भने, “मैले याहवेह तिमीहरूका परमेश्वर र तिमीहरूका विरुद्धमा पाप गरेको छु। अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्वरसित बिन्ती गरिदेओ।” तब मोशा फारोकहाँबाट निस्केर गइहाले र याहवेहलाई बिन्ती चढाए। अनि याहवेहले बतासलाई ठूलो पश्चिमी बतासमा परिणत गरिदिनुभयो, जसले सलहहरूलाई उडाएर लाल समुद्रमा फालिदियो। त्यसपछि इजिप्टमा एउटै सलह पनि रहेन। तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्। तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्टमाथि अँध्यारो भइजाओस्—छाम्दा पनि थाहा पाउनेजस्तो अन्धकार।” यसकारण मोशाले आफ्नो हात आकाशतिर पसारे, र इजिप्टभरि तीन दिनसम्म घनघोर अन्धकार भयो। तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्यो। तब फारोले मोशालाई बोलाएर भने, “जाऊ, याहवेहको आराधना गर। तिमीहरूका स्त्रीहरू र छोराछोरीहरू पनि तिमीहरूसित जाऊन्; केवल तिमीहरूका बगाल र बथान मात्र यहाँ रहून्।” तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ। हाम्रा गाईबस्तुहरू पनि हामीसित जानेछन्, र एउटै खुर समेत छोडिनेछैन; किनकि हामीले तीमध्ये कुनै-कुनै बस्तुभाउ हाम्रा याहवेह परमेश्वरलाई चढाउनुपर्छ; जबसम्म हामी त्यहाँ पुग्दैनौँ, तबसम्म हामीले याहवेहलाई के-के चढाएर आराधना गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।” तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्। फारोले मोशालाई भने, “यहाँबाट गईहाल! अब फेरि मेरो सामु तिमी देखा पर्दै नपर! तिमीले मेरो अनुहार देखेको त्यही दिन तिमी मर्नेछौ।” मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ म फेरि तपाईंको सामु कहिल्यै देखा पर्नेछैनँ।”
प्रस्थान 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 10:16-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू