एस्तर 7
7
हामानलाई फाँसी दिइएको
1तब राजा र हामान रानी एस्तरको भोजमा गए; 2अनि दोस्रो दिन, तिनीहरूले दाखमद्य पिउँदै राजाले फेरि सोधे, “रानी एस्तर, अब भन, तिम्रो बिन्ती के हो? मलाई भन, त्यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? राज्यको आधा भाग मागे तापनि त्यो दिइनेछ।”
3तब रानी एस्तरले जवाफ दिइन्, “हे महाराजा, मैले हजुरको निगाह प्राप्त गरेकी छु भने र हजुर राजी हुनुहुन्छ भने म र मेरा जातिहरूका जीवन जोगाइयोस् भन्ने मेरो बिन्ती छ। अनि मेरा मानिसहरूलाई बचाइदिनुहोस्—यो मेरो अनुरोध हो। 4किनकि म र मेरा जातिहरू सर्वनाश गरिन, हत्या गरिन र मृत्युको लागि बेचिएका छौँ। यदि हामी दास-दासीझैँ बेचिएका मात्र भए, म चुप लाग्नेथिएँ; किनभने यस्तो सानो कुराको लागि महाराजालाई दुःख दिनु उचित हुनेथिएन।”
5तब राजा अहासूरसले रानी एस्तरलाई सोधे, “त्योचाहिँ को हो? यस्तो काम गर्न साहस गर्ने, त्यो मानिस कहाँ छ?”
6एस्तरले भनिन्, “त्यो विरोधी र शत्रु, यही दुष्ट हामान हो!”
यो सुनेपछि राजा र रानीको सामु हामान भयभीत भए। 7तब राजा रिसले चुर भएर उठे, र आफ्नो दाखमद्य त्यहीँ छोडेर राजमहलको बगैँचामा गए। तर हामानचाहिँ राजाले तिनको निम्ति दण्डको निर्णय गरिसकेका छन् भनी सोचेर एस्तर रानीसित आफ्नो प्राणको भीख माग्न भनी भित्रै बसे।
8राजा राजमहलको बगैँचाबाट भोज गर्ने हलमा फर्केर आए; हामानचाहिँ एस्तर रानीले आराम गर्ने पलङको छेउमा निहुरिरहेका थिए।
तब राजा यसरी चिच्याए, “के यस मानिसले यहाँ मेरै सामु रानीलाई दुर्व्यवहार गर्ने आँट गरेको हो?”
राजाको मुखबाट यो कुरा निस्कनसाथ, तिनीहरूले हामानको मुख छोपिदिए। 9तब राजाका सेवक नपुंसकहरू मध्येका एक जना हर्बोनाले भन्यो, “राजालाई सहायता गर्न बोल्ने मोर्दकैका निम्ति हामानले तयार पारेको पचास क्यूबिट#7:9 लगभग 75 फिट अग्लो फाँसी दिने काठ त्यसको घरकै छेउमा खडा छ।”
राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याइदेओ!” 10यसकारण नपुंसकहरूले हामानलाई तिनले मोर्दकैका निम्ति तयार गरेको फाँसीको काठमा झुण्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
अहिले सेलेक्ट गरिएको:
एस्तर 7: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.