उपदेशक 6
6
1मैले सूर्यमुनि अर्को एउटा खराबी देखेँ, जो मानिस जातिहरूका बीचमा अति व्यापक भएको छ। 2परमेश्वरले कसैलाई धन, सम्पत्ति र इज्जत दिनुहुन्छ; अनि त्यसको हृदयले चाहेका कुनै कुराको अभाव त्यसलाई हुँदैन, तर उहाँले त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्न। बरु त्यसको सट्टामा एउटा अपरिचित व्यक्ति आएर ती कुराको आनन्द लिँदछ; यो अर्थहीन हो र दुःखलाग्दो खराबी हो।
3कुनै मानिस एक सय छोराछोरीसहित धेरै वर्ष बाँच्ला, तर जति नै लामो त्यसको आयु भए तापनि त्यसले आफ्नो समृद्धिको आनन्द भोग गर्न सक्दैन, र मरेपछि राम्ररी मृत-संस्कार पाउँदैन भने म भन्छु, त्यो मानिसभन्दा त एउटा नजन्मँदै तुहेको बच्चा नै असल हो। 4त्यो अर्थहीनमा जन्मन्छ, र अन्धकारमा लोप हुन्छ; अनि त्यसको नाम अन्धकारमा नै हराउँछ। 5त्यसले कहिल्यै सूर्य देखेको हुँदैन, र केही कुरा जानेको पनि हुँदैन; तर त्यस मानिसले भन्दा त धेरै आराम पाउँदछ— 6यदि त्यो मानिस दुई हजार वर्ष बाँचेर पनि आफ्नो समृद्धिको सुख भोग गर्न असफल हुन्छ भने आखिरमा सबै एउटै ठाउँमा जाँदैनन् र?
7मानिसले जति परिश्रम गर्दछ, त्यो पेट भर्नको निम्ति मात्र हो,
तर पनि त्यसको खाने इच्छा कहिल्यै मेटिँदैन।
8एउटा बुद्धिमान् मानिसलाई मूर्खबाट के लाभ हुन्छ र?
गरिबले यो जानेर के फाइदा छ,
कि अरू मानिसहरूका अगि कस्तो व्यवहार गर्ने?
9आँखासामु जे छ, त्यसमा सन्तुष्ट हुनु
धेरै कुराको चाहना गर्नुभन्दा असल हो;
यो पनि अर्थहीन छ,
बतासलाई खेदेको जस्तो मात्र हो।
10जे छँदैछ, त्यसलाई नाम दिइसकिएको छ,
र मानवता के हो, त्यो जानिएकै छ।
आफूभन्दा बलियोसँग
कसैले पनि विरोध गर्न सक्दैन।
11जति धेरै कुरा,
त्यति नै कम अर्थ हुन्छ।
त्यसले मानिसलाई के फाइदा हुन्छ र?
12किनकि छायाजस्तै बितेर जाने मानिसको जीवनको यो छोटो र अर्थहीन दिनहरूमा, त्यसको लागि कुन कुरो असल छ भनी कसले जान्दछ र? त्यो मरेपछि सूर्यमुनि के हुनेछ, त्यसलाई कसले बताउन सक्छ र?
अहिले सेलेक्ट गरिएको:
उपदेशक 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.