YouVersion लोगो
खोज आइकन

व्यवस्था 17

17
1याहवेह तिमीहरूका परमेश्‍वरलाई खोट अथवा दाग भएको कुनै गोरु अथवा भेडा तिमीहरूले नचढाउनू; किनकि उहाँले त्यो घृणा गर्नुहुन्छ।
2यदि याहवेहले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूबीच बस्‍ने कुनै पुरुष अथवा स्त्रीले याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा उहाँको करार भङ्ग गर्दै दुष्‍ट काम गरिरहेको भेट्टाइयो भने, 3अनि मेरा आज्ञाहरूको विरुद्धमा अरू देवी-देवताहरूलाई पूजा गरेर तिनीहरूका सामु अर्थात् सूर्य वा चन्द्र र आकाशका ताराहरूको सामु दण्डवत् गरेको छ भने, 4र यी कुरा तिमीहरूले थाहा पायौ भने यस बारेमा तिमीहरूले एकदमै राम्रोसँग छानबिन गर्नुपर्छ। यदि यो कुरा सत्य हो, र यस्तो घिनलाग्दो काम इस्राएलमा भएको प्रमाणित भयो भने, 5यस्तो दुष्‍ट काम गर्ने त्यस पुरुष अथवा स्त्रीलाई तिमीहरूका सहरका मूलढोकामा लैजानू; र त्यसलाई ढुङ्गाले हानेर मार्नू। 6दुई वा तीन जनाको साक्षीद्वारा ती मानिसहरूलाई मार्नू। तर एउटै मात्र साक्षीको गवाहीद्वारा चाहिँ कसैलाई नमार्नू। 7त्यसलाई मार्न साक्षीहरूकै हातद्वारा पहिले ढुङ्गाले हानून्; अनि मात्र अरू मानिसहरूले ढुङ्गाले हानून्। यसरी तिमीहरूका बीचबाट तिमीहरूले नै दुष्‍टतालाई हटाउनू।
मुद्दा-मामिलाहरू
8यदि तिमीहरूको सामु हत्याकाण्ड, कानुनी-विवाद अथवा झैझगडाजस्ता तिमीहरूलाई न्याय गर्न गाह्रो पर्ने खालका मुद्दा-मामिलाहरू उठे भने तिनीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा लैजानू। 9अनि लेवी पुजारीहरूकहाँ र त्यस समयमा कार्यभार सम्हालेर बस्‍ने न्यायकर्ताकहाँ जानू। तिनीहरूलाई सोधपुछ गर्नू, र तिनीहरूले फैसला सुनाउनेछन्। 10याहवेहले चुन्‍नुहुने ठाउँमा न्यायकर्ताहरूले दिएका निर्णयअनुसार तिमीहरूले काम गर्नुपर्छ। तिनीहरूले तिमीहरूलाई जे गर्नू भनेका छन्, त्यही हरेक कुरा होसियारीसाथ गर्नुपर्छ। 11तिनीहरूले तिमीहरूलाई सिकाएका नियम र तिमीहरूलाई दिएका निर्णयअनुसार काम गर्नू। तिनीहरूले तिमीहरूलाई भनेका कुरादेखि दायाँ अथवा बायाँ नलाग्नू। 12याहवेह तिमीहरूका परमेश्‍वरको सेवा गर्नलाई उभिएका पुजारी अथवा न्यायकर्ताको आज्ञालाई जसले उल्‍लङ्घन गर्छ, त्यो मानिस मारिनुपर्छ। यसरी तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाउनुपर्छ। 13यो कुरा सबै मानिसहरूले सुन्‍नेछन्, र फेरि अनाज्ञाकारी हुनेछैनन्।
राजा सम्बन्धमा
14जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्नेछौ, र त्यसमाथि अधिकार गरेर त्यस देशमा बसोबास गर्नेछौ; अनि तिमीहरूले भन्‍नेछौ, “हाम्रा चारैतिर भएका सबै जातिहरूले झैँ हामीमाथि एउटा राजा खडा गरौँ,” 15तब तिमीहरूले निश्‍चित रूपमा याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएका राजा नै आफूमाथि नियुक्त गर्नू। ती राजा तिमीहरूकै इस्राएली दाजुभाइहरूको बीचबाट हुनुपर्छ। तिमीहरूका राजा कुनै विदेशी, अथवा इस्राएल बाहिरकोलाई नियुक्त नगर्नू। 16यसबाहेक राजाले आफ्ना निम्ति धेरै संख्यामा घोडाहरू नराखून्, अथवा अझ धेरै प्राप्‍त गर्न मानिसहरूलाई इजिप्टमा फर्केर जान नलगाऊन्। किनकि याहवेहले तिमीहरूलाई यसो भन्‍नुभएको छ, “तिमीहरू फेरि त्यो बाटोतिर फर्केर नजाओ।” 17तिनले धेरै पत्नीहरू नराखून्; नत्रता तिनको मन बरालिनेछ। तिनले आफ्ना निम्ति प्रशस्त सुन र चाँदी नथुपारून्।
18जब तिनी आफ्नो राज्यको सिंहासनमाथि बस्छन्, तब तिनले एउटा चर्मपत्रमा लेवी पुजारीबाट लिइएको व्यवस्थाको एक प्रति नक्‍कल आफ्ना निम्ति लेखेर राख्नुपर्छ। 19योचाहिँ तिनीसँग हुनुपर्छ, र तिनले त्यस व्यवस्थालाई आफ्नो जीवनभरि पढ्नुपर्छ, ताकि तिनले याहवेह तिनको परमेश्‍वरलाई आदर गर्न, र यस व्यवस्थाका सबै वचन र उर्दीहरू होसियारीसाथ पालन गर्न सिकून्। 20अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 17: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्