व्यवस्था 13
13
मूर्तिपूजा विरुद्ध चेताउनी
1यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्भुत कार्यको घोषणा गर्छ भने, 2अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, “हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ,” 3तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ। 4याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्वासयोग्य भइरहनू। 5त्यस अगमवक्ता अथवा स्वप्नदर्शीलाई चाहिँ मार्नू; किनकि त्यसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटकारा दिएर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा विद्रोही बन्नलाई उक्साएको छ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई मान्नू भनेर आज्ञा गर्नुभएका मार्गहरूबाट त्यसले तर्काएर लैजाने कोसिस गर्यो। तिमीहरूले आफ्नो बीचबाट दुष्टतालाई हटाउनैपर्छ।
6यदि तिमीहरूका आफ्नै दाजुभाइले, अथवा तिमीहरूका छोराछोरीले, अथवा तिमीहरूले प्रेम गरेकी पत्नी अथवा तिमीहरूका घनिष्ठ मित्रले तिमीहरूलाई यसो भनेर गुप्तमा बहकाउँछ भने, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ” (तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नजानेका देवी-देवताहरू, 7तिमीहरूका वरिपरि भएका मानिसहरू, नजिक अथवा टाढा भएका, देशको एक छेउदेखि अर्को छेउसम्म भएका), 8तिमीहरू तिनीहरूका कुरामा नलाग्नू, वा तिनीहरूको कुरा नसुन्नू। तिनीहरूलाई दया नदेखाउनू। तिनीहरूलाई बाँकी नराख्नू वा नजोगाउनू। 9तिमीहरूले तिनीहरूलाई निश्चय नै मार्नू। तिनीहरूलाई मार्नका लागि तिमीहरूका हात पहिला उठोस्, र त्यसपछि अरू सबैका हातहरू उठून्। 10तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू; किनकि तिनीहरूले तिमीहरूलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वरदेखि बहकाउन खोजे। 11तब सारा इस्राएलीहरूले यो सुन्नेछन् र डर मान्नेछन्। अनि तिमीहरूको बीचमा कहिल्यै कसैले पनि यस्तो दुष्ट काम फेरि गर्नेछैन।
12यदि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने सहरहरूमध्ये कुनै एउटा सहरको बारेमा तिमीहरूले यस्तो कुरा सुन्यौ, 13कि तिमीहरूबीच दुष्ट मानिसहरू निस्केर सहरका मानिसहरूलाई बहकाएर यसो भन्दैछन्, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ”, (तिमीहरूले नचिनेका देवी-देवताहरू), 14तब तिमीहरूले त्यस बारेमा सावधानीसाथ सोधपुछ गर्नू, जाँच गर्नू र छानबिन गर्नू। यदि तिमीहरूका बीचमा यस्तो घृणित काम गरिएको साँचो हो भन्ने प्रमाणित भयो भने, 15तिमीहरूले त्यस सहरमा बस्ने सबैलाई निश्चित रूपमा तरवारले मार्नुपर्छ। तिमीहरूले तिनीहरूका मानिसहरू र गाईबस्तु दुवैलाई पूर्ण रूपले नाश गर्नू। 16त्यस सहरका सबै लुटका मालसामानहरू सार्वजनिक चोकको माझमा जम्मा गर्नू। अनि त्यस सहर र त्यसका सबै लुटका मालसामानहरूलाई याहवेह तिमीहरूका परमेश्वरको निम्ति होमबलिको रूपमा जलाइदिनू। त्यो सहर सदाका निम्ति भग्नावशेषको रूपमा रहोस्। अनि त्यस सहरको पुनर्निर्माण कहिल्यै नहोस्। 17विनाशका लागि तय गरिएका कुनै पनि चीजहरू तिमीहरूसँग नरहोस्। तब याहवेह आफ्नो डरलाग्दो रिसबाट फर्केर तिमीहरूमाथि कृपा देखाउनुहुनेछ, र दयालु हुनुहुनेछ। उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको संख्यामा वृद्धि गराउनुहुनेछ; 18किनकि आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्दै उहाँको दृष्टिमा जे ठिक छ, त्यही गरिरहेका छौ।
अहिले सेलेक्ट गरिएको:
व्यवस्था 13: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.