YouVersion लोगो
खोज आइकन

दानिएल 4:19-27

दानिएल 4:19-27 NCV

तब दानिएल (जसलाई बेलतसजर पनि भनिन्छ) केही बेर साह्रै विचलित भए; अनि तिनको सोचले तिनलाई भयभीत तुल्यायो। यसकारण राजाले भने, “बेलतसजर, सपना र यसको अर्थले तिमीलाई विचलित नपारोस्।” बेलतसजरले जवाफ दिए, “मेरा मालिक, यदि यो सपना हजुरका शत्रुहरूका निम्ति र यसको अर्थ हजुरका विरोधीहरूका निम्ति भइदिए त हुनेथियो! हजुरले देख्नुभएको रूख, जुन ठूलो र बलियो भएर बढ्यो, जसको टुप्पोले आकाशै छोइरहेको थियो र सारा पृथ्वीबाट देख्न सकिन्थ्यो; जसका सुन्दर पातहरू थिए, र फलहरू प्रशस्त थिए; जसले सबैका निम्ति भोजन उपलब्ध गरिदिन्थ्यो; जसले जङ्गलका पशुहरूलाई आश्रय दिन्थ्यो, र त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्गीहरूका निम्ति गुँड बनाएर बस्‍ने ठाउँ थियो। हे महाराजा, त्यो रूख त हजुर नै हुनुहुन्छ! हजुर महान् र पराक्रमी हुनुभएको छ; हजुरको महानताले आकाशै छोएको छ; अनि हजुरको प्रभुत्व पृथ्वीको टाढा-टाढाका ठाउँहरूसम्मै फैलिएको छ।” हे महाराजा, हजुरले एक पवित्र जन, एक स्वर्गदूतलाई स्वर्गबाट तल ओर्लिरहेका देख्नुभयो, जसले यसो भनिरहेका थिए, “रूखलाई काटेर ढालिदे, र त्यसलाई नाश गरिदे, तर रूखको ठुटालाईचाहिँ फलाम र काँसाले बाँधेर मैदानको घाँसमा छोडिदे; अनि त्यसका जराहरूचाहिँ जमिनमै रहून्। त्यसलाई आकाशको शीतले भिजाओस्; त्यसको निम्ति सात काल नबितेसम्म त्यो जङ्गली जनावरहरूका बीचमा जनावरहरूजस्तै भएर बास बसोस्।” हे महाराजा, सपनाको अर्थ यही हो; अनि मेरा मालिक महाराजाको विरुद्धमा सर्वोच्‍च परमेश्‍वरले निकाल्नुभएको आदेश यही हो: हजुर मानिसहरूका बीचबाट धपाइनुहुनेछ र जङ्गली जनावरहरूका साथमा बस्‍नुहुनेछ; हजुरले गाईबस्तुहरूझैँ घाँस खानुहुनेछ र आकाशको शीतद्वारा हजुर भिजाइनुहुनेछ। सर्वोच्‍च परमेश्‍वरले पृथ्वीमा भएका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफूले चाहेको जोसुकैलाई पनि ती राज्यहरू दिन सक्नुहुन्छ भनी हजुरले स्वीकार नगर्नुभएसम्म हजुरका निम्ति सात काल बित्नेछन्। रूखको ठुटालाई त्यसका जराहरूसितै छोडिदिने आदेशको अर्थ यही हो, कि स्वर्गका परमेश्‍वरले शासन गर्नुहुन्छ भनी हजुरले स्वीकार गर्नुभएपछि हजुरको राज्य फेरि पुनर्स्थापित हुनेछ। यसकारण हे महाराजा, कृपया मेरो सल्‍लाह मान्‍नुहोस्: जे ठिक र न्यायसङ्गत छ, त्यही गरेर हजुरले आफ्ना पापहरू त्यागिदिनुहोस्; अनि अत्याचारमा परेकाहरूप्रति दयालु भएर हजुरले आफ्नो दुष्‍टता त्यागिदिनुहोस्। हुन सक्छ त्यसपछि हजुरको समृद्धि रहिरहनेछ।

दानिएल 4 पढ्नुहोस्