त्यस बेला केही बेबिलोनी ज्योतिषीहरू नजिक आए, र यहूदीहरूको विरुद्धमा अभियोग लगाए। तिनीहरूले राजा नबूकदनेसरलाई भने, “महाराजा, अमर रहून्! हे महाराजा, हजुरले यस्तो उर्दी दिनुभएको छ: नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्ने हरेक व्यक्तिले घोप्टो परेर सुनको मूर्तिलाई दण्डवत् गर्नुपर्छ; अनि मूर्तिलाई घोप्टो परेर दण्डवत् नगर्ने जोसुकै पनि दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिनेछ। तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।”
तब नबूकदनेसर रिसले चुर भएर शद्रक, मेशक र अबेद्नगोलाई ल्याउन आज्ञा गरे। यसकारण यी मानिसहरू राजाको सामु ल्याइए; अनि नबूकदनेसरले तिनीहरूलाई भने, “शद्रक, मेशक र अबेद्नगो, के तिमीहरूले मेरा देवताहरूको सेवा गर्दैनौ, अथवा मैले खडा गरेको सुनको मूर्तिलाई दण्डवत् गर्दैनौ? के यो कुरा सत्य हो? अब जुन समय तिमीहरूले नरसिङ्गा, बाँसुरी, वीणा, सारङ्गी, सितार, न्याउली बाजा र सबै किसिमका सङ्गीत सुन्छौ, तब घोप्टो परेर मैले बनाएको मूर्तिलाई दण्डवत् गर्न तयार भयौ भने धेरै असल हुनेछ। तर यदि तिमीहरूले मूर्तिलाई दण्डवत् गरेनौ भने तिमीहरू तुरुन्तै दन्किरहेको आगोको भट्टीभित्र फालिनेछौ। त्यस बेला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?”
शद्रक, मेशक र अबेद्नगोले राजालाई जवाफ दिए, “हे महाराजा नबूकदनेसर, यस विषयमा हामीले आफ्नो पक्षमा केही भन्नु आवश्यक छैन। यदि हामी दन्किरहेको आगोको भट्टीभित्र फालियौँ भने तापनि हामीले सेवा गरेको परमेश्वरले हामीलाई यस आगोबाट बचाउन सक्नुहुन्छ; अनि हे महाराजा, उहाँले हामीलाई हजुरको हातबाट छुटाउनुहुनेछ। तर यदि उहाँले छुटाउनुभएन भने तापनि हे महाराजा, हामी हजुरलाई यो कुरा थाहा होस् भन्ने चाहन्छौँ, कि हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौँ, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई नै दण्डवत् गर्नेछौँ।”
तब नबूकदनेसर शद्रक, मेशक र अबेद्नगोसित रिसले चुर भएर तिनीहरूप्रति उनको विचार बदलियो। उनले आगोको भट्टीलाई अरू बेलाभन्दा सात गुणा बढी आगो दन्काउने आदेश दिए। अनि आफ्नो सेनाका सबैभन्दा बलिया केही सिपाहीहरूलाई शद्रक, मेशक र अबेद्नगोलाई हातखुट्टा बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फ्याँकिदिने आदेश दिए। तब ती जवान मानिसहरूलाई तिनीहरूका लवेदा, सुरुवाल, टोपी, फेटा र अरू लुगाहरूसहित बाँधेर त्यस दन्किरहेको आगोको भट्टीभित्र फालिए। राजाको आदेश यति कठोर थियो र आगोको भट्टी यति तातो थियो, कि आगोको ज्वालाले शद्रक, मेशक र अबेद्नगोलाई उठाएर भट्टीमा लैजाने ती सिपाहीहरूलाई भस्म पार्यो। अनि ती तीन जना मानिसहरू बलियो गरी बाँधेर दन्किरहेको आगोको भट्टीभित्र फालिए।
त्यसपछि राजा नबूकदनेसर आश्चर्यचकित हुँदै हतार-हतार आफ्ना सल्लाहकारहरूलाई सोधे, “के हामीले तीन जना मानिसहरूलाई बाँधेर आगोभित्र फ्याँकिदिएका होइनौँ र?”
तिनीहरूले जवाफ दिए, “हजुर, हे महाराजा, अवश्य हो।”
राजाले भने, “हेर त! म चार जना मानिसहरू कुनै हानि नभई फुक्का भएर वरिपरि हिँडिरहेका पो देख्दैछु; अनि चौथोचाहिँ ईश्वरको पुत्रजस्तै देखिन्छ।”