YouVersion लोगो
खोज आइकन

कलस्सी 2:8-23

कलस्सी 2:8-23 NCV

होसियार होओ कि, कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्। किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा वास गर्दछ। अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्‍ति र अधिकारमाथि शिर हुनुहुन्छ। उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ। किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ, किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्‍तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ। जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो। यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो। यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औंसी वा विश्रामदिन मनाउने कुरामा दोष नदियोस्। यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍टमा पाइन्छ। झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता व्यक्‍तिहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ। शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्‍वरले वृद्धि गराउनु भएअनुसार बढ्दै जान्छ। तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्‍टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैं त्यसका नियमहरूको अधीनतामा किन रहन्छौ? “नसमात! नचाख! नछोओ!” यी कुराहरू चलाएपछि नष्‍ट भएर जान्छन्, किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्। तिनीहरू आफैले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्‍टदायी व्यवहार गरेर, यी नियमहरू साँच्‍चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।

कलस्सी 2 पढ्नुहोस्