YouVersion लोगो
खोज आइकन

कलस्सी 1:9-20

कलस्सी 1:9-20 NCV

यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौं। हामी निरन्तर विन्ती गरिरहेका छौं कि, परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्‍ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्, ताकि तिमीहरूले प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ। तिमीहरू उहाँको महिमित शक्‍तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्। ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागी योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ। किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो, जसमा हाम्रो उद्धार, पापहरूको क्षमा छ। ख्रीष्‍ट अदृश्य परमेश्‍वरका प्रतिरूप, सारा सृष्‍टिमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँमा नै सबै थोकहरू सृष्‍टि भएका थिए: स्वर्गमा र पृथ्वीमा भएका थोकहरू, देखिने र नदेखिने, सिंहासनहरू होस् वा शक्‍तिहरू वा शासकहरू वा अधिकारीहरू; सबै उहाँद्वारा र उहाँकै निम्ति सृष्‍टि गरिएका हुन्। उहाँ सबै थोक भन्दा अगाडि हुनुहुन्छ, र सबै थोक उहाँमा नै एकसाथ मिलेर रहेका छन्। अनि उहाँ मण्डलीका शिर हुनुहुन्छ, जुन उहाँको शरीर हो। हरेक थोकमा उहाँको सर्वश्रेष्‍ठता होस् भनेर उहाँ नै आदि हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेहरूमा ज्येष्‍ठ हुनुहुन्छ। किनकि उहाँको सारा परिपूर्णता ख्रीष्‍टमा वास भएकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो। अनि उहाँद्वारा परमेश्‍वरले सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो। उहाँले क्रूसमा बगाउनुभएको ख्रीष्‍टको रगतको माध्यमद्वारा स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरूमा शान्ति गराउनुभयो।

कलस्सी 1 पढ्नुहोस्