YouVersion लोगो
खोज आइकन

कलस्सी 1:3-12

कलस्सी 1:3-12 NCV

हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौं, हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरलाई सधैं धन्यवाद चढाउँछौं। किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौं। त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अघि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ। जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यो सुसमाचारले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ। तिमीहरूले यो सुसमाचार इपाफ्रासबाट सिकेका छौ। उनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टको विश्‍वासयोग्य सेवक हुन्। अनि तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्। यसकारण हामीले तिमीहरूको विषयमा सुनेको दिनदेखि तिमीहरूको निम्ति प्रार्थना गर्न छोडेका छैनौं। हामी निरन्तर विन्ती गरिरहेका छौं कि, परमेश्‍वरले तिमीहरूलाई आत्माले दिइने समझशक्‍ति र सारा बुद्धिद्वारा उहाँको इच्छाको ज्ञानले भरिदिनुभएको होस्, ताकि तिमीहरूले प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्‍न पार्न, हरेक असल कामको फल फलाउन परमेश्‍वरको ज्ञानमा बढ्दै जाओ। तिमीहरू उहाँको महिमित शक्‍तिअनुसार पूर्ण सामर्थ्यले बलिया होओ, ताकि तिमीहरूमा धेरै सहनशीलता र धैर्यता होस्। ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागी योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।

कलस्सी 1 पढ्नुहोस्