तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पूजाहारीकहाँ गए, र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाइ यरूशलेम ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाउँमा पत्रहरू मागे। आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो। उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, किन तिमी मलाई सताउँछौ?”
शाऊलले भने, “हे प्रभु तपाईं को हुनुहुन्छ?”
उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। अब तिमी उठ र दमस्कसमा जाऊ र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अवाक भएर उभिए; किनकि जो मसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तेजले गर्दा उनले केही पनि देख्न सकेनन्; त्यसैले तिनका सङ्गीहरूको हातद्वारा तिनलाई डोर्याउँदै दमस्कसमा पुर्याए। तीन दिनसम्म उनी दृष्टिविहीन भए, र केही खानपिन गरेनन्।
हननिया नाउँ गरेका एकजना चेला दमस्कसमा थिए; तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “हे हननिया!”
तिनले जवाफ दिए, “हजुर, प्रभु!”
प्रभुले तिनलाई भन्नुभयो, “तिमी ‘सीधा’ नाउँको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नाउँको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ। हननिया नाउँ भएका व्यक्तिले शाऊलको शिरमा उनका हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएकोले उनले दर्शनमा देखेका छन्।”
तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु, र यहाँ पनि हजुरका नाउँ लिनेहरूलाई बन्दी बनाउन मुख्य पूजाहारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाउँ घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। मेरो नाउँका निम्ति उनले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस शहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले मलाई यहाँ पठाउनुभएको छ, जसले गर्दा तिमी फेरि देख्न सक र तिमी पवित्र आत्माले भरपूर होऊ।” तुरुन्तै, शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्नसक्ने भए। तब तिनी उठे, र बप्तिस्मा लिए। अनि केही खानेकुरो खाएपछि, तिनले फेरि शक्ति पाए।
शाऊलले दमस्कसमा चेलाहरूसँग धेरै दिन बिताए। अनि तुरुन्तै येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा तिनले प्रचार गर्न सुरु गरे। तिनका कुरा जतिजनाले सुने, ती सबैले अचम्म मानेर सोधे, “के यो मानिस त्यही होइन, जसले यरूशलेममा यही नाउँ लिने मानिसहरूमाथि ठूलो अत्याचार गरेको थियो? त्यति मात्र होइन, यहाँ पनि यो नाउँ लिने मानिसहरूलाई समातेर मुख्य पूजाहारीहरूकहाँ सुम्पन यो आएको होइन र?” तर शाऊल झन्-झन् शक्तिशाली हुँदै प्रचार गर्न थाले र दमस्कसका यहूदीहरूका बीच येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाणित गरीकन तिनीहरूलाई छक्क पारे।