YouVersion लोगो
खोज आइकन

प्रेरित 8:5-25

प्रेरित 8:5-25 NCV

फिलिप सामरियाको एउटा सहरमा पुगे, र त्यहाँ ख्रीष्‍टको प्रचार गर्न थाले। जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। धेरैबाट अशुद्ध आत्माहरू चिच्याउँदै बाहिर निस्के। अनि धेरै पक्षघात भएका रोगीहरू र लङ्गडाहरू निको पारिए। यसरी त्यस सहरमा ठूलो आनन्द छायो। त्यसै सहरमा केही समयदेखि सिमोन नामको मानिसले जादु गरेर सामरियाका सबै मानिसहरूलाई अचम्ममा पारेको थियो; जसले आफूलाई एउटा महान् व्यक्ति भएको दाबी गर्थ्यो। साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे। तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो। तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए। सिमोन आफैँले पनि विश्‍वास गर्‍यो; र बप्‍तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्‍क पर्‍यो। जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए। जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे। किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्‍तिस्मा मात्रै लिएका थिए। त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्‍नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्‍त गरे। प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो। अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्!” यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्‍वरको वरदान तिमी किन्‍न सक्छौ भनी तिमीले सोचेका छौ! यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन। यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ। किनकि म देख्दैछु, तिमी तितोपनाले भरिपूर्ण छौ र पापको बन्दी भएका छौ।” यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्‍नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!” जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्‍ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए।

प्रेरित 8 पढ्नुहोस्

Video for प्रेरित 8:5-25