YouVersion लोगो
खोज आइकन

प्रेरित 23:1-11

प्रेरित 23:1-11 NCV

तब पावलले महासभातिर टिठ लाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू, आजका दिनसम्म मैले असल विवेकमा परमेश्‍वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।” यो कुरा सुन्‍नासाथ प्रधान पूजाहारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए। अनि पावलले भने, “हे चून पोतिएको भित्ता, तपाईंलाई परमेश्‍वरले प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्‍नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस विधिको उलङ्घन गर्दै हुनुहुन्छ।” यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “परमेश्‍वरको प्रधान पूजाहारीलाई बेइज्जत गर्ने तँ कसरी साहस गर्दैछस्?” पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरूहो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्‍ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘तिम्रा मानिसहरूका शासकको बारेमा निन्दनीय कुरा नबोल।’ ” जब पावलले महासभामा एक सदुकी दलका र अर्को फरिसी दलका रहेछन् भनेर उनले थाहा पाए, तब उच्‍च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, म फरिसीहरूको छोरो एउटा फरिसी हुँ। मरेकाहरू पुनर्जीवित हुनेछन् भन्‍ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।” जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच एउटा मतभेद उत्पन्‍न भयो र महासभामा फाटो आयो। सदुकीहरू भन्छन् कि मरेकाहरू पुनर्जीवित हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्। त्यहाँ ठूलो खैलाबैला मच्‍चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौं। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोल्यो कि?” तिनीहरू बीचको झगडा यति हिंसात्मक हुनथाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्‍ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर उनलाई ब्यारेकभित्र लैजाऔ” भन्‍ने आदेश दिए। भोलिपल्ट राती प्रभुले पावलको नजिकै उभिएर भन्‍नुभयो, “साहस गर! यरूशलेममा जसरी तिमीले मेरो बारेमा साक्षी दिइरहेका थियौ, त्यस्तै साक्षी तिमीले रोममा पनि दिनुपर्छ।”

प्रेरित 23 पढ्नुहोस्

Video for प्रेरित 23:1-11