“हे इस्राएलका मानिसहो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई तपाईंहरूका सामु परमेश्वरले शक्तिशाली कामहरू, आश्चर्यपूर्ण कामहरू र अद्भुत चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो। तपाईंहरू सबैले जानेकै कुरा हो, तपाईंहरूका बीचमा यी कामहरू परमेश्वरले उहाँद्वारा गराउनुभएको हो। आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। यिनै येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै, परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। दाविदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैं देखें। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म कहिल्यै डगमगाउने छैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन, तपाईंले आफ्नो पवित्र जनको शरीर कुहिन दिनुहुनेछैन। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभयो; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’ “सङ्गी भाइहरूहो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दाविद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। तर उनी एउटा अगमवक्ता थिए। उनकै सन्तानमध्ये एकजनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको उनलाई थाहा थियो। पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनर्जीवित हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न पातालमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहिन दिनुभयो। परमेश्वरले यिनै येशूलाई जीवित पार्नुभयो र हामी सबै यस तथ्यका साक्षी छौं। परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो र त्यसैलाई यहाँ खन्याइदिनुभयो जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दाविद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिन।” ’ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून् कि, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यिनै येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।”
प्रेरित 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 2:22-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू