YouVersion लोगो
खोज आइकन

प्रेरित 15:22-41

प्रेरित 15:22-41 NCV

त्यसपछि प्रेरितहरू र प्रधानहरू लगायत, सम्पूर्ण मण्डलीले आफूहरूमध्येबाट केही मानिसहरूलाई पावल र बारनाबासको साथ एन्टिओखियामा पठाउने निर्णय गरे। तिनीहरूले बर्साबास भनिने यहूदा र सिलासलाई चुने, जो तिनीहरूका अगुवा थिए। उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंका विश्‍वासीहरूबाट अभिवादन! हाम्रो आज्ञाविना नै हामीमध्ये केही मानिसहरू त्यहाँ आएर नाना थरीका कुरा गरेर तपाईंहरूको मन बिथोलेका छन् भनी हामीले सुनेका हुनाले, यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौं। यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्‍टका नाउँका निम्ति आफ्नो ज्यान जोखिममा पारेका छन्। यसैले हामी जे लेखिरहेका छौं, त्यसलाई आफ्ना मुखको वचनद्वारा प्रमाणित गर्न यहूदा र सिलासलाई पठाइरहेका छौं। यी कुराहरूभन्दा बढ्ता गर्नु भनेर तपाईंहरूलाई बोझ लाद्न पवित्र आत्मा र हामी आवश्यक ठान्दैनौं। मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट टाढा रहनुहोस्! यी सब कुराबाट अलग रहनुभयो भने असल हुनेछ! बिदा। त्यहाँबाट बिदा गरिएपछि ती मानिसहरू एन्टिओखिया पुगे। त्यहाँ तिनीहरूले मण्डलीलाई एकैसाथ भेला गराएर त्यो पत्र बुझाइदिए। ती मानिसहरूले त्यो पत्र पढेर त्यसका उत्साहपूर्ण अर्तीबाट खुशी भए। यहूदा र सिलास, जो आफै पनि अगमवक्‍ताहरू थिए, धेरै वचनहरूद्वारा विश्‍वासीहरूलाई प्रोत्साहित र स्थिर गराए। तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्‍वासीहरूद्वारा शान्तिको आशिषसहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएका थिए। तर सिलासले त्यहीं बस्‍ने निर्णय गरे। पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे। केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति शहरहरूमा प्रभुको वचनको प्रचार गर्‍यौं, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔं र दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौं।” मर्कूस भनिने यूहन्‍नालाई पनि बारनाबासले आफूसँग लिएर जान चाहन्थे। तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्। तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए; अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे। पावलले सिलासलाई चुने, र विश्‍वासीहरूद्वारा प्रभुको अनुग्रहमा अर्पण गरिएपछि हिँडे। उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।

प्रेरित 15 पढ्नुहोस्

Video for प्रेरित 15:22-41