YouVersion लोगो
खोज आइकन

प्रेरित 12:1-19

प्रेरित 12:1-19 NCV

राजा हेरोदले त्यो समयमा मण्डलीसँग सम्बन्धित केहीलाई सताउने मनसायले तिनीहरूलाई पक्राउ गरे। उनले यूहन्‍नाका भाइ याकोबलाई तरवारले मारेका थिए। यस कुराले यहूदीहरू खुशी भएको देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमीरी रोटीको चाडको समयमा घटेको थियो। उनलाई पक्राउ गरेपछि झ्यालखानामा हाले, र चार-चार सिपाहीको टोली बनाएर चार पहरेदारहरूको समूहलाई उनको निगरानी गर्न सुम्पिदिए। हेरोदले निस्तार चाडपछि पत्रुसलाई मानिसहरूको सामु जाँचको निम्ति बाहिर ल्याउने योजना गरे। यसकारण पत्रुसलाई झ्यालखानामा राखियो; तर मण्डली उनका निम्ति परमेश्‍वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो। हेरोदले उनको न्याय गर्ने अघिल्‍लो रातमा, पत्रुस दुईओटा साङ्लोले बाँधिएर दुई सिपाहीहरूका बीच सुतिरहेका थिए। ढोकामा पहरेदारहरूले रखवाली दिइराखेका थिए। अचानक प्रभुका दूत झ्यालखानाको कोठामा देखा परे, र त्यहाँ एउटा ज्योति चम्क्यो। दूतले पत्रुसलाई कोखामा कोट्याएर “छिटो उठ!” भनी उठाए। अनि तिनका नाडीहरूबाट साङ्लाहरू फुस्किए। त्यसपछि त्यो स्वर्गदूतले उनलाई भने, “तिम्रो चप्पल र लुगाहरू लगाऊ!” अनि पत्रुसले त्यसै गरे। “तिम्रो खास्टो वरिपरि बेह्रेर मलाई पछ्याऊ,” भनी दूतले उनलाई भने। पत्रुस झ्यालखानाबाट बाहिरसम्म तिनलाई पछ्याए, त्यो स्वर्गदूतले जे गर्दैथिए, साँचो हो भन्‍ने ज्ञान उनलाई भएन, तर आफूले एउटा दर्शन देखिराखेको छु भनी ठाने। तिनीहरूले पहिलो र दोस्रो पहरेदारहरूलाई पार गरेर शहरतिर जाने फलामे ढोकामा आइपुगे। तिनीहरूका निम्ति यो ढोका आफै खोलियो र यसबाट भएर तिनीहरू निस्के। एउटा बाटो पूरै हिँडिसकेपछि, स्वर्गदूतले अचानक तिनलाई छोडेर गए। त्यसपछि पत्रुस होशमा आएपछि भने, “अब मलाई पक्‍का थाहा भयो, प्रभुले आफ्नो दूतलाई हेरोदका पञ्जाबाट र यहूदीहरूले जे गर्न चाहेका थिए, ती सबैबाट मलाई छुटाउन पठाउनुभएको रहेछ।” यो कुरा उनले बुझेपछि उनी मर्कूस भनिने, यूहन्‍नाकी आमा मरियमको घरमा गए, जहाँ धेरै मानिसहरू जम्मा भएर प्रार्थना गरिरहेका थिए। पत्रुसले बाहिरी ढोकामा ढक्ढक्याए, र रोदा नाउँ गरेकी एउटी सेविका ढोकामा आएर जवाफ फर्काइन्। जब तिनले पत्रुसको सोर चिनिन्, तब तिनी खुशी भएर ढोकै नखोलीकन “पत्रुस ढोकामा उभिरहनुभएको छ,” भनी रमाउँदै खबर दिन दौडेर गइन्। तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्‍चै नै हो भनेर दृढ भइरही। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छ भनी ठाने।” तर पत्रुसले ढोका ढक्ढक्याइरहे; र जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तिनीहरू आश्‍चर्य चकित भए। पत्रुसले तिनीहरूलाई चुप रहन हातले इशारा गरे, र कसरी तिनलाई प्रभुले झ्यालखानाबाट निकाल्नुभयो भनी वर्णन गर्दै तिनीहरूलाई बताइदिए। त्यसपछि तिनले भने, “यी कुराको समाचार याकोब र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बताइदेओ,” भनेर तिनी अर्को ठाउँमा गइहाले। पत्रुसको घटनाका सम्बन्धमा सिपाहीहरूमा त्यस बिहानी कम्ती खैलाबैला मच्‍चिएन! हेरोदले पत्रुसको धुइँपत्ताल खोजी गर्न लगाए, तर उनलाई नभेट्टाएपछि पहरेदारहरूसँग फेरि सोधपुछ गरिसकेपछि तिनीहरूलाई मृत्युदण्डको आज्ञा दिए।

प्रेरित 12 पढ्नुहोस्

Video for प्रेरित 12:1-19