YouVersion लोगो
खोज आइकन

प्रेरित 10:9-23

प्रेरित 10:9-23 NCV

त्यसको भोलिपल्ट जब तिनीहरू आफ्नो यात्राको अन्तिम चरणमा सहरको नजिकै पुगिरहेका थिए, तब पत्रुस घरको कौसीमा प्रार्थना गर्न गए। उनी भोकाए, र केही भोजन खान चाहन्थे; जुन बेला भोजन पाकिरहेको थियो, तिनी ध्यानमग्न भए। अनि तिनले स्वर्ग उघ्रेको र त्यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्तो कुनै चीज तल जमिनमा ओरालिएको देखे। यसमा सबै किसिमका चारखुट्टे जनावरहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए। त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।” तर पत्रुसले जवाफ दिए, “कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।” त्यही आवाजले उनलाई दोस्रो पटक भन्यो, “परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।” अनि तीन पल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना तुरुन्तै स्वर्गतिर फिर्ता लगियो। त्यस दृष्यको अर्थ के होला भनी यस बारेमा पत्रुस अकमक्‍क परिरहेका थिए, तब त्यही बेला कर्नेलियसले कैसरियाबाट पठाएका तीन जना मानिसहरू सिमोनको घर सोधपुछ गर्दै उनको ढोकामा आइपुगे। पत्रुसका नामले चिनिने सिमोन यहीँ घरमा बसेका छन् कि? भनी तिनीहरूले बोलाएर सोधे। पत्रुस अझै त्यही दृश्यका बारेमा विचार गरिरहेका थिए, तब पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “सिमोन, तिमीलाई तीन जना मानिसहरूले खोजिरहेका छन्। त्यसैले उठ, र तल जाऊ। मैले नै तिनीहरूलाई पठाएको हुनाले तिनीहरूसँग तिमी शङ्का नमानी जाऊ।” तल गएर पत्रुसले ती मानिसहरूसँग भने, “तिमीहरू जसलाई खोजिरहेका छौ, त्यो मानिस म नै हुँ। तिमीहरू किन आएका हौ?” ती मानिसहरूले जवाफ दिए, “सेनापति कर्नेलियसले पठाएर हामी आएका हौँ। उहाँ धर्मी र परमेश्‍वरको भय मान्‍ने मानिस हुनुहुन्छ, उहाँलाई सबै यहूदीहरूले सम्मान गर्छन् र एक जना पवित्र स्वर्गदूतले तपाईंलाई उहाँको घरमा बोलाउन आदेश भयो, ताकि तपाईंका कुरा सुन्‍न सकून्।” त्यसपछि पत्रुसले ती मानिसहरूलाई पाहुनाका रूपमा स्वागत गर्दै घरभित्र सत्कार गरे।

प्रेरित 10 पढ्नुहोस्

Video for प्रेरित 10:9-23