आफूले लडाकु मानिसहरूको संख्या लिइसकेपछि दावीदको विवेकले तिनलाई सताउन थाल्यो; र तिनले याहवेहलाई भने, “मैले जनगणना गरेर ठूलो पाप गरेको छु। अब हे याहवेह, म बिन्ती गर्छु, तपाईंको सेवकको पाप क्षमा गरिदिनुहोस्। किनभने मैले यस्तो मूर्ख काम गरेको छु।”
भोलिपल्ट बिहान दावीद उठ्नुभन्दा अगि नै अगमवक्ता गाद, अर्थात् दावीदका भविष्यवक्ता गादलाई याहवेहको वचन यसो भन्दै आइसकेको थियो: “जा, गएर दावीदलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ, म तँलाई तीन वटा कुरा छान्न दिनेछु; तीमध्ये मैले तेरो विरुद्धमा लागू गराउने एउटा कुरा रोज्।’ ”
यसकारण दावीदकहाँ गएर गादले तिनलाई भने, “तपाईंको देश तीन वर्षको अनिकालमा परेको, अथवा तपाईं तीन महिनासम्म आफ्ना शत्रुहरूद्वारा खेदोमा परेको, अथवा तपाईंको देशमा तीन दिनको महामारी चलेको, अब यसलाई राम्रोसँग विचार गर्नुहोस् र मैले मलाई पठाउनुहुनेलाई कसरी जवाफ दिने हो, त्यो निर्णय लिनुहोस्।”
दावीदले गादलाई भने, “म ठूलो सङ्कष्टमा परेको छु। हामीलाई याहवेहको हातमा पर्न दिनुहोस्; किनकि उहाँको कृपा महान् छ; तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”
यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। जब स्वर्गदूतले यरूशलेमलाई नष्ट गर्न आफ्नो हात पसारे, तब याहवेह त्यस विपत्तिको कारण दुःखित हुनुभयो। अनि मानिसहरूलाई हानि गरिरहेका स्वर्गदूतलाई भन्नुभयो, “अब भयो! तिम्रो हात थाम।” त्यस बेला याहवेहको दूत यबूसी अरौनाको खलामा उभिरहेका थिए।
जब दावीदले मानिसहरूलाई प्रहार गरिरहेका स्वर्गदूतलाई देखे, तब तिनले याहवेहलाई भने, “मैले पाप गरेको हुँ; म गोठालोले गलत काम गरेको हुँ। यिनीहरू त भेडाहरू मात्र हुन्। तिनीहरूले के गरेका छन् र? तपाईंको हात ममाथि र मेरो परिवारमाथि परोस्!”
त्यस दिन गाद दावीदकहाँ गए, र तिनलाई भने, “माथि जानुहोस्, र यबूसी अरौनाको खलामा याहवेहका निम्ति एउटा वेदी बनाउनुहोस्!” यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए। जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे।
अरौनाले भने, “मेरा मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभयो?”
दावीदले जवाफ दिए, “तिम्रो खला किन्न आएको हुँ, ताकि मानिसहरूमाथि आएको महामारी थामिन सकोस् भनेर याहवेहका निम्ति एउटा वेदी बनाउन सकौँ।”
अरौनाले दावीदलाई भने, “मेरा मालिक महाराजालाई जे इच्छा लाग्छ, लिनुहोस् र बलिदान चढाउनुहोस्। होमबलि चढाउनलाई गोरुहरू यहाँ छन्, र दाउराका निम्ति दाइँ गर्ने काठहरू र गोरुका जुवाहरू पनि यहाँ छन्। हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्वरले तपाईंको बलिदान ग्रहण गरून्!”
तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।”
यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने। दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।