YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 8:1-15

2 कोरिन्थी 8:1-15 NCV

अब हे दाजुभाइ-दिदीबहिनीहरूहो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौं। तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। किनकि म यो साक्षी दिन्छु, कि तिनीहरूले दिनसक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। प्रभुका जनहरूको सेवाको लागि रकम दिने सौभाग्य पाओं भनी हामीसित तिनीहरूले खुरन्धार विन्ती गरे। अनि तिनीहरूले हामीले आशा गरेभन्दा ज्यादा गरे: तिनीहरूले आफूहरूलाई पहिले प्रभुकहाँ समर्पण गरे, र त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफूलाई समर्पण गरे। यसकारण तीतसले पहिलेबाटै दान उठाउने काम थालेका हुनाले हामीले तिनलाई तिमीहरूको रकम सङ्कलनको काम पूरा गरून् भनी आग्रह गर्‍यौं। अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा अनि हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैं तिमीहरूले दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ। म तिमीहरूलाई आज्ञा त दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु। किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, कि उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो; ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन। अनि तिमीहरूको लागि के चाहिँ उत्तम होला भनेर यस विषयमा एउटा सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिनलाई मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम् थियौ। अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्। किनकि इच्छा छ भने, ऊसित नभएअनुसार होइन, तर ऊसित भएअनुसारको दान ग्रहणयोग्य हुन्छ। हाम्रो इच्छा यो होइन कि तिमीहरूमाथि बढी बोझ थपेर अरूलाईचाहिँ हल्का होस्, तर समानता होस् भन्‍ने हो। वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ, जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेसित अति ज्यादा भएन, अनि कम बटुल्नेसित अति थोरै पनि भएन।”

2 कोरिन्थी 8 पढ्नुहोस्