YouVersion लोगो
खोज आइकन

1 तिमोथी 6:1-21

1 तिमोथी 6:1-21 NCV

दासत्वको जुवामुनि हुनेहरू, सबैले आ-आफ्ना मालिकहरू पूर्ण आदरका योग्य छन् भनी ठानून्; ताकि परमेश्‍वरको नाम र शिक्षाको बदनामी नहोस्। जसका मालिकहरू विश्‍वासी छन्; तिनीहरूले ती मालिकहरू विश्‍वासमा सङ्गी विश्‍वासीहरू हुन् भनेर अनादर नगरून्; बरु तिनीहरूका सेवाबाट लाभ उठाउने विश्‍वासी नै हुन्। अनि तिनीहरूप्रति प्रिय छन् र तिनीहरूको भलो चिताउँछन् भनेर तिनीहरूको सेवा अझ राम्रोसँग गरून्। यी कुराहरू तिमीले सिकाउनू र आग्रह गर्नू। यदि कसैले हाम्रोभन्दा भिन्‍नै शिक्षा सिकाउँछ, र हाम्रा प्रभु येशू ख्रीष्‍टका उचित वचन र भक्तिअनुसारका शिक्षासित सहमत हुँदैन भने, ती घमण्डले फुलिएका हुन्छन् र केही पनि जानेका हुँदैनन्; तर तिनीहरूलाई विवादहरू गर्ने मनोरोग लागेको हुन्छ, र यस्ता शब्दहरूका बारेमा झगडा गर्छन्; जसले डाह, कलह, बदनाम र खराब शङ्काहरू उत्पन्‍न गराउँछन्; अनि बुद्धि भ्रष्‍ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्; अनि भक्तिचाहिँ लाभको साधन हो भनी तिनीहरू ठान्छन्। तर सन्तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले यस संसारमा न केही ल्यायौँ, न त यसबाट केही लिएर जानेछौँ। तर यदि हामीसित खानेकुरा र लगाउने कुराहरू छन् भने हामी त्यसैमा सन्तुष्‍ट रहन सक्नुपर्छ। जो धनी हुन चाहन्छन्, तिनीहरू परीक्षा र पासोमा फस्छन्; अनि धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। किनकि रुपियाँपैसाप्रतिको प्रेम नै सबै खराबीको जरा हो। कति मानिसहरू रुपियाँपैसाको लोभमा परेर विश्‍वासबाट पछि हटेका छन्, र धेरै पीडाहरूले आफूलाई छेडेका छन्। तर हे परमेश्‍वरका जन, तिमी यी सबै कुराहरूबाट अलग बस, र धार्मिकता, भक्ति, विश्‍वास, प्रेम, सहनशीलता र नम्रताको पछि लाग। विश्‍वासको उत्तम लडाइँ लड। अनन्त जीवन पक्रिराख; यसैका लागि तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्‍वासको असल साक्षी दिएका थियौ। प्रत्येकलाई जीवन दिनुहुने परमेश्‍वर र पन्तियस पिलातसको सामु असल विश्‍वासको गवाही दिनुहुने ख्रीष्‍ट येशूको दृष्‍टिमा, म तिमीलाई यो आदेश दिन्छु: प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म यस आज्ञालाई बेदाग अथवा दोषरहित राख, जसलाई परमेश्‍वरले आफ्नै समयमा प्रकट गर्नुहुनेछ। परमेश्‍वर, परमधन्य र एक मात्र शासक, राजाहरूका राजा तथा प्रभुहरूका प्रभु हुनुहुन्छ। उहाँ मात्र अमर हुनुहुन्छ, र उहाँ त्यस ज्योतिमा बास गर्नुहुन्छ, जसको नजिक कोही पनि जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन, न त देख्न नै सक्छ। उहाँको महिमा र सामर्थ्य सदासर्वदा रहोस्! आमेन। वर्तमान संसारमा भएका धनीहरू घमण्डी नहोऊन्, र आफ्नो आशा अनिश्‍चित धनसम्पत्तिमा होइन, तर हाम्रो उपभोगको निम्ति प्रत्येक थोक प्रशस्त दिनुहुने परमेश्‍वरमा लगाऊन् भनी आज्ञा देऊ। तिनीहरूले असल गरून्, असल कामहरूमा धनी होऊन्, र उदार चित्तले बाँडचुँड गर्नेहरू होऊन् भनी आज्ञा देऊ। यसरी नै तिनीहरूले आउने युगका निम्ति असल जगको रूपमा आफ्नै लागि सम्पत्ति थुपार्नेछन्, र तिनीहरूले त्यो जीवनलाई पक्रिराखून्, जो साँच्‍चै नै आउने युगको साँचो जीवन हो। हे तिमोथी, तिमीलाई जे सुम्पिएको छ, त्यसलाई सुरक्षित राख। भक्तिहीन गन्थन र विरोधपूर्ण विचारहरू, जसलाई झूटो रूपमा ज्ञान भनिन्छ, त्यसबाट अलग बस। यस्ता कुराहरूलाई स्वीकार गरेर कति जना त आफ्नो मूल विश्‍वासबाट तर्किगएका छन्।

1 तिमोथी 6 पढ्नुहोस्