1 शमूएल 27
27
दावीद पलिश्तीहरूको बीचमा
1तर दावीदले यस्तो विचार गरे, “कुनै न कुनै दिन म शाऊलको हातबाट नष्ट हुनेछु। मेरा निम्ति पलिश्तीहरूको देशमा उम्केर जानु नै बेश हुनेछ। तब शाऊलले मलाई इस्राएलमा खोज्न छोड्नेछन्, र म तिनको हातबाट उम्कनेछु।”
2यसकारण दावीद र तिनीसँग भएका छ सय मानिसहरू गात सहरको राजा माओकका छोरा आकीशकहाँ गए। 3दावीद र तिनका मानिसहरू आकीशसँग गातको सहरमा बसोबास गर्न थाले। प्रत्येक मानिससँग तिनीहरूका आफ्ना परिवार थिए। दावीदसँग तिनका दुईवटी पत्नीहरू थिए: यिजरेलकी अहीनोम र कर्मेलकी अबीगेल, जो नाबालकी विधवा पत्नी थिइन्। 4जब दावीद गातमा भागेर गएको कुरा शाऊललाई बताइयो, तब तिनले उनलाई खोज्न छोडिदिए।
5तब दावीदले आकीशलाई भने, “यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई कुनै नगरमा एउटा ठाउँ दिनुहोस्, ताकि म त्यहाँ बसोबास गर्न सकूँ। तपाईंको सेवक तपाईंसँग राजकीय सहरमा किन बस्नू?”
6यसकारण त्यस दिन आकीशले तिनलाई सिक्लग दिए; अनि त्यस समयदेखि उसो त्यो ठाउँ यहूदाका राजाहरूको भयो। 7दावीद पलिश्तीहरूको प्रान्तमा एक वर्ष चार महिना बसे।
8त्यसपछि दावीद र तिनका मानिसहरू गए, र गेशूरी, गिज्री र अमालेकीहरूलाई लुटपाट गरे। (यी मानिसहरू प्राचीन समयदेखि नै शूर र इजिप्टसम्म फैलिएको भूमिमा बस्दै आएका थिए।) 9दावीदले जहाँ-जहाँ आक्रमण गरे, तिनले एउटै पनि पुरुष अथवा स्त्रीलाई जिउँदा छाडेनन्, तर भेडाहरू र गाईबस्तुहरू, गधाहरू, ऊँटहरू, र लुगाहरू लुटेर लगे। त्यसपछि तिनी आकीशकहाँ फर्किए।
10जब आकीशले तिनलाई सोध्थे, “तिमीले आज कतातिर लुटपाट गर्यौ?” तब दावीदले जवाफ दिन्थे, “यहूदाको दक्षिणी इलाकामा” अर्थात् “यरहमेलीको दक्षिणमा” अथवा “केनीहरूको दक्षिणी इलाकामा गएको थिएँ भनी भन्दथे।” 11तिनले गातमा ल्याउनलाई एउटै पनि पुरुष वा स्त्रीलाई जिउँदा छाडेनन्। किनकि तिनले, “तिनीहरूले हाम्रो बारेमा, ‘दावीदले हामीलाई यसो गर्यो’ भनेर सूचना देलान्” भन्ने सोच्थे। अनि तिनले पलिश्तीहरूका इलाकामा बसुन्जेल यस्तै गरिरहे। 12आकीशले दावीदमाथि भरोसा राखेर विचार गरे, “दावीद आफ्ना मानिस इस्राएलीहरूका निम्ति यति धेरै घृणित भएका छन्, अब तिनी जीवनभरिका लागि मेरा सेवक बन्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
1 शमूएल 27: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.