1 कोरिन्थी 5
5
मण्डली अनुशासन
1वास्तवमा तिमीहरूका बीचमा यौन अनैतिकता छ भन्ने खबर छ, यस्तो कुरा त गैरयहूदीहरूले पनि सहँदैनन्: एउटा पुरुषले आफ्नै बुबाको पत्नीसँग अवैध सम्बन्ध राख्छ। 2अनि तिमीहरू घमण्ड गर्छौ! तिमीहरूले त यस्तो कुरामा दुःखित हुनुपर्ने र यस्तो गर्ने मानिसलाई तिमीहरूको सङ्गतिबाट निकाली दिनुपर्ने होइन र? 3म शरीरमा तिमीहरूका बीचमा उपस्थित नभए तापनि आत्मामा म तिमीहरूसँगै छु। अनि म तिमीहरूसँग उपस्थित भएझैं, यस्तो घिनलाग्दो काम गरिरहेको मानिसलाई मैले प्रभु येशूको नाउँमा अघि नै न्याय गरिसकेको छु। 4जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु र हाम्रा प्रभु येशूको शक्तिको उपस्थिति त्यहाँ हुन्छ। 5त्यस मानिसलाई शरीरको विनाशको निम्ति शैतानको हातमा सुम्पिदेओ, ताकि प्रभुको दिनमा उसको आत्माचाहिँ बाँचोस्।
6तिमीहरूको घमण्ड राम्रो होइन। के तिमीहरूलाई थाहा छैन कि अलिकति खमीरले सबै पीठोको ढिकालाई खमीर बनाइदिन्छ? 7पुरानो खमीरलाई फालिदेऊ, ताकि तिमीहरू खमीरविनाको नयाँ मुछेको ढिका बन्न सक, जुन वास्तवमा तिमीहरू हौ। किनकि हाम्रो निस्तार चाडको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ। 8यसकारण हामी कुकर्म र दुष्टतासहितको पुरानो खमीरको रोटीले होइन, तर निष्कपटता र सत्यताको अखमीरी रोटीले चाड मनाऔं।
9मेरो पत्रमा तिमीहरूलाई यौन अनैतिक व्यक्तिहरूको सङ्गत नगर्नू भनी मैले लेखेको थिएँ, 10तर त्यसको अर्थ यस संसारका अनैतिक व्यक्तिहरू, लोभीहरू र ठगहरू अथवा मूर्तिपूजकहरूसँग सङ्गत नगर्नू भनेकोचाहिँ होइन। त्यसो भए त तिमीहरूले यो संसारै छोडेर जानुपर्ने हुन्छ। 11तर अहिले म तिमीहरूलाई यो लेखिरहेको छु कि तिमीहरूले यस्तो व्यक्तिसँग सङ्गत नगर, जो विश्वासी भनी दाबी त गर्छ, तर पनि यौन अनैतिक वा लोभी, मूर्तिपूजक वा गाली गर्ने, मतवाला वा ठगी छ। यस्तो व्यक्तिसँग खाँदै नखानू।
12मण्डली बाहिर रहेकाहरूलाई न्याय गर्नु मलाई के खाँचो छ? तर के तिमीहरूले मण्डली भित्रकाहरूलाई न्याय गर्नुपर्दैन? 13परमेश्वरले नै बाहिरकाहरूलाई न्याय गर्नुहुनेछ। “दुष्ट मानिसलाई तिमीहरूका बीचबाट निकालिदेओ।”#5:13 व्यव 13:5; 17:7; 19:19; 21:21; 22:21, 24; 24:7
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.