तर कतिले सोध्लान्, “मरेकाहरू कसरी पुनर्जीवित हुन्छन्? तिनीहरू कस्तो किसिमको शरीरमा आउनेछन्?” हे मूर्ख! तिमीले जे छर्दछौ, त्यो नमरेसम्म सजीव हुँदैन। जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर ता रोप्दैनौ, तर एउटा बीउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्। तर परमेश्वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बीउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ। सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ। स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, अनि सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ। सूर्यको तेज एक किसिमको हुन्छ, चन्द्रमाको अर्कै किसिमको, ताराहरूको अर्कै किसिमको, एउटा ताराको तेज अर्को ताराको तेजभन्दा भिन्दै प्रकारको हुन्छ।
मरेकाहरूको पुनर्जीवित हुने पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ। त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ। त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ।
यदि प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि हुन्छ। यसकारण यसरी लेखिएको छ: “पहिलो मानिस आदम जीवित प्राणी भयो”; अन्तिम आदमचाहिँ जीवन दिने आत्मा हुनुभयो। पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो। पहिलो मानिस पृथ्वीको धूलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै छन्; स्वर्गीय मानिसजस्ता छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्। जसरी हामीले माटोले बनेको मानिसको स्वरूप धारण गरेका छौं, त्यसरी नै हामीले स्वर्गीय मानिसको स्वरूप पनि धारण गर्नेछौं।
दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न ता विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ। सुन, म तिमीहरूलाई एउटा रहस्य भन्छु: हामी सबैजना सुतिजानेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं; एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौं। किनकि विनाशीले अविनाशी रूप धारणा गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्यु विजयमा निलिएको छ।”
“ए मृत्यु, तेरो विजय कहाँ छ?
ए मृत्यु, तेरो खील कहाँ छ?”
मृत्युको खील पाप हो, र पापको शक्तिचाहिँ व्यवस्था हो। तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।
यसकारण मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, स्थिर रहो। तिमीहरूलाई कुनै पनि कुराले विचलित नपारोस्। प्रभुको काममा सधैं जोशिलो भएर लागिरहो; किनभने तिमीहरू जान्दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन।