भजनसंग्रह 147
147
1परमप्रभुको प्रशंसा गर किनभने उहाँ असल हुनुहुन्छ।
परमप्रभुप्रति स्तुतिगान गर!
उहाँको गुण-गान गर्नु आनन्दमय र असल हो।
2परमप्रभुले यरूशलेम बनाउनु भयो।
परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो,
जसलाई कैदी बनाएर थुनिएको थियो।
3परमेश्वरले तिनीहरूको टुक्रीएको हृदय निको पारिदिनु हुन्छ।
तिनीहरूका घाउहरूमा मलमपट्टी बाँधिदिनुहुन्छ।
4परमेश्वरले ताराहरू गन्नुहुन्छ,
र ती प्रत्येकको नाउँ जान्नुहुन्छ।
5हाम्रो स्वामी महान् हुनुहुन्छ,
उहाँ अत्यन्त पराक्रमी हुनुहुन्छ।
उहाँको ज्ञान अपार छ।
6परमप्रभु नम्र मानिसहरूलाई सघाउनु हुन्छ
तर दुष्ट मानिसहरूलाई सताउनु हुन्छ।
7परमप्रभुलाई धन्यवाद होस्।
हाम्रो परमप्रभुलाई वीणा बजाएर प्रशंसा गरौं।
8परमेश्वरले आकाश बादलहरूले भरिदिनु हुन्छ।
परमेश्वरले पृथ्वीमा बर्षा पठाउनु हुन्छ
परमेश्वरले पर्वतहरूमा हरियो घाँसहरू उमार्नु हुन्छ।
9परमेश्वरले पशुहरूलाई खाना दिनुहुन्छ।
परमेश्वरले चराहरूलाई खुवाउनु हुन्छ।
10युद्धका घोडाहरूले र शक्तिशाली सैन्यहरूले
उहाँलाई खुशी पार्दैन।
11परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ,
जसले उहाँलाई पूज्दछन्।
परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ,
जसले उहाँको प्रेममा भरोसा राख्छन्।
12हे यरूशलेम! परमप्रभुको प्रशंसा गर!
हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर।
13यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो।
अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
14परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो।
यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्।
अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
15परमेश्वरले पृथ्वीलाई आदेश दिनुभयो,
यसले तुरन्तै पालन गर्यो।
16जबसम्म धर्ती ऊन जस्तो सेतो हुँदैन परमेश्वरले हिम बर्षा गराउनु हुन्छ।
परमेश्वरले हावाबाट धूलोको कण खसे झैं हिमपात बर्षाउनु हुन्छ।
17परमेश्वरले आकाशबाट चट्टानहरू झैं असिना बर्षाउनु हुन्छ।
उहाँले पठाएको चिसो कसैले पनि थाम्न सक्तैन।
18त्यसपछि, परमेश्वरले अर्को आज्ञा गर्नुभयो,
अनि फेरि तातो बतास बहन थाल्यो
हिउँ पग्लियो अनि पानी बग्न थाल्यो।
19परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो,
परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएललाई दिनुभयो।
20परमेश्वरले यस्ता कामहरू कुनै जातिको लागि गर्नु भएन।
परमेश्वरले अन्य जातिहरूलाई आफ्नो नियमहरू सिकाउनु भएन।
परमप्रभुको प्रशंसा गर!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 147: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International