YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 9:1-14

गन्तीको पुस्तक 9:1-14 NERV

इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो बर्षको पहिलो महीनामा सीनै पहाडको मरुभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो, “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।” यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए। तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरुभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए। तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए। ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।” मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।” त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ। तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ। तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्। तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ। “यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”