त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले। एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे। इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए। मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।” सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए। बालाकले बओरको छोरा बिलामलाई निमन्त्रणा गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ। “अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्। यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशीर्वाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।” मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसँग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए। तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे। सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?” बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्। उनको सन्देश थियो: हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।” परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू मद्वारा अशिषित छन्।” त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।” यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।” एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए। तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ: दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्। किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।” तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ। यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहिं बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।” त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”
गन्तीको पुस्तक 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्तीको पुस्तक 22:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू