अर्को दिन योशू सभाघरमा जानुभयो, त्यहाँ एकजना मानिसको एउटाहात सुकेको थियो। कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे। येशूले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ खडा हौ, अनि सबै मानिसहरूले तिमीलाई देख्न सक्नेछन्।”
अनि येशूले मानिसहरूलाई भन्नुभयो, “विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराबगर्न? कसैको प्राण बँचाउनु की नास गर्न?” मानिसहरूले येशूलाई कुनै जवाफ दिएनन्।
येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो। तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।
येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए। यहूदिया, यरूशलेम, इदूमिआ यर्दननदीको अर्कोतर्फ अनि टायर र सीदोनका इलाकाबाट पनि धेरै मानिसहरू त्यहाँ आई पुगे। ती मानिसहरू येशूले गरेका सबै कुराहरू सुनेर आएका थिए।
उहाँले ती सबै मानिसहरूलाई देख्नुभयो, अनि उहाँले आफ्नो चेलाहरूलाई एउटा सानो डुङ्गा तयार गर्नु भन्नुभयो। उहाँले यस्तो आदेश गर्नुभयो किनभने भीडको कारणले थिचोमिचो पो हुने होकि भन्ने डर थियो येशूले धेरै मानिसहरूलाई निको तुल्याउनु भएको थियो। यसर्थ सबै रोगी मानिसहरूले उहाँलाई छुन भनेर ठेलमठेला गदर्थे। कसैलाई दुष्टआत्मा लागेको थियो, जब त्यो दुष्टआत्माले येशूलाई देख्यो, तिनीहरूले उहाँ अघि शिर निहुराए, अनि कराए, “तपाई परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँ को हुनुहुन्छ मानिसहरूलाई नचिनाउनु भनी ती दुष्टआत्माहरूलाई कड़ा आज्ञा दिनुभयो।
त्यसपछि येशू पहाडमाथि लाग्नुभयो। येशूले केही मानिसहरूलाई आफू कहाँ बोलाउनु भयो। ती मानिसहरूलाई येशूले नै छान्नु भएको थियो। ती मानिसहरू येशू भएकहाँ पुगे। येशूले बाह्रजनालाई चुन्नु भयो अनि तिनीहरूलाई “प्रेरित” भनेर भन्नुयो। येशूले ती बाह्रजना मानिसहरूलाई उहाँसित बस्नु, अनि प्रचारका निम्ति, अरू स्थानमा पठाउन चाहनुहुन्थ्यो। अनि येशूले ती मानिसहरूलाई अरू मानिसहरूमा लागेको दुष्ट आत्मा हटाउने शक्ति प्राप्त होस् भन्ने चाहनुहुन्थ्यो। येशूले छान्नु भएका ती बाह्रजना मानिसहरू थिए:
सिमोन (जसलाई उहाँले पत्रुस नाउँ दिनु भएको थियो),
याकूब र यूहन्ना, जब्दीका छोराहरू (जसलाई येशूले बोअनर्गेश नाउँ दिनुभएको थियो जसको अर्थ हुन्छ “गर्जनका छोराहरू”),
आन्द्रियास,
फिलिप,
बारथोलोमाई,
मत्ती,
थोमा,
याकूब (अल्फयसको छोरो),
थेदियस,
सिमोन कनानी,
अनि यहूदा इस्करियोती (जसले येशूसित विश्वासघात गरेको थियो)।
त्यसपछि, येशू घर जानुभयो। तर फेरि अनेकौं मानिसहरू त्यहाँ भेला भए, त्यहाँ यति विघ्न मानिसहरू थिए कि येशू र आफ्ना चेलाहरूले भोजन खान पनि पाउनु भएन। येशूका परिवारका सदस्यहरूले यी सबै थाहा पाए। तिनीहरूले उहाँको मन ठेगानमा छैन भनी उहाँको जिम्मा लिन तिनीहरू आए।