पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एक जना मानिस थियो। कतै उहाँले त्यसलाई शबाथ-दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यता आऊ।”
उहाँले तिनीहरूलाई भन्नुभयो, “शबाथ-दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुनचाहिँ उचित छ?” तर तिनीहरू चूप लागिरहे।
तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले हात पसार्यो र त्यसको हात निको भयो। तब निस्केर गई उहाँलाई कसरी नाश पारौं भनी फरिसीहरूले तुरुन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे।
त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, र गालीलबाट मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो। यहूदिया, यरूशलेम, इदुमिआ, यर्दनपारी र टुरोस र सीदोनका वरिपरिबाट मानिसहरूको ठूलो भीड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँकहाँ आयो। भीड़ले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नुभएको हुनाले रोग लागेका सबैले उहाँलाई छोऔं भनेर ठेलमठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँलाई प्रकट नगर्नू भनी तिनीहरूलाई उहाँले कड़ा हुकुम दिनुभयो।
त्यसपछि येशू डाँड़ामा उक्लनुभयो, र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो, र तिनीहरू उहाँकहाँ आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले बाह्र जनालाई नियुक्त गर्नुभयो, र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। ती बाह्र प्रेरितहरू यी नै हुन्: सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेश, अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो। अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, र थेदियस, सिमोन कनानी, र यहूदा इस्करियोत जसले उहाँलाई धोका दियो।
त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भीड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनुभएन। जब येशूका परिवारले यो सुने, तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे।