YouVersion लोगो
खोज आइकन

मर्कूसको सुसमाचार 1:9-27

मर्कूसको सुसमाचार 1:9-27 NERV

त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। स्वर्गबाट एउटा आवाज आयो अनि भन्योः “तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।” त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो। चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसँग हुनुहुन्थ्यो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मद्दत गरे। त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। येशूले भन्नुभयो, “यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।” गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।” त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए। येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए। तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए। येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो। त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो। जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो। त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।” येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!” त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो। सबै मानिसहरू छक्क परे, र तिनीहरूले एक-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहनु भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।”