YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 20:17-34

मत्तीको सुसमाचार 20:17-34 NERV

येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्। तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।” तब जब्दीकी पत्नी येशूकहाँ आइन्। उनका छोराहरू पनि साथमा थिए। उनले शिर निहुराएर येशूलाई दण्डवत गरिन अनि येशूसित केही कुरो मागिन्। येशूले सोध्नुभयो, “तिमी के चाहन्छौ?” उनले भनिन्, “तपाईंको राज्यमा यी मेरा छोराहरूमध्ये एकजनालाई तपाईंको दाहिनेहातपट्टि र अर्कोलाई तपाईंको देब्रे हातपट्टि बस्न पाउने प्रतिज्ञा गर्नुहोस्।” अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!” येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चयनै मैले जुन यातना भोग्ने छु त्यही तिमीहरूले पनि भोग्नुपर्छ। तर म कसैलाई मेरो दाहिने र देब्रेपट्टि बसाउन सक्दिन। मेरा पिताले ती मानिसहरू निश्चित गरिसक्नु भएको छ जसले ती स्थान पाउनेछन्। उहाँले नै ती स्थानहरू ती मानिसहरूकालागी तयार पार्नु भएको छ। ती ठाउँहरू तिनीहरूकै हुनेछन्।” अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। येशूले सबै चेलाहरूलाई एकै ठाउँ भेला हुन बोलाउनु भयो। उहाँले भन्नुभयो, “गैर यहूदीहरू अरू मानिसहरूमाथि अधिकार देखाउन खोज्छन्। अनि तिनीहरूभन्दा मुख्य मानिसहरू पनि अरू सबै माथि अधिकार छ भनेर देखाउन खोज्छन्। तर तिमीहरू चाहिँ त्यस्तो हुनु हुँदैन। यदि तिमीहरूमध्ये कोही ठूलो मानिस हुन चाहन्छौ भने, ऊ नोकर जस्तो भएर अरूको सेवा गर्नुपर्छ। यदि तिमीहरू मध्ये कोही पहिलो मानिस हुन चाहन्छौ भने, उसले दास जस्तो भएर अरूहरूको सेवा गर्नुपर्छ। मानिसको पुत्रसँग पनि यस्तै हुनेछ। मानिसको पुत्र अरू मानिसबाट सेवा पाउन आएको होइन। तर मानिसको पुत्र अरू मानिसहरूको सेवागर्न आएको हो। मानिसको पुत्र धेरै मानिसहरूको रक्षाको निम्ति जीवन समर्पण गर्न आएको हो।” जब येशू र उहाँका चेलाहरू जोरिकोबाट जाँदै थिए, धेरै मानिसहरूले उहाँलाई पछ्‌याए। बाटोको किनारमा दुइजना अन्धा मानिसहरू बसिरहेका थिए। ती अन्धाहरूले येशू त्यतैतिरबाट जाँदै गर्नु भएको कुरा सुने। अनि ती अन्धाहरू चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” सबै मानिसहरूले ती अन्धाहरूलाई हप्काए। तिनीहरूले ती अन्धाहरूलाई हल्ला गरेर विन्ती गर्न दिएनन्। तर ती अन्धाहरू अझ जोडले चिच्याए, “प्रभु, दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्।” येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?” अन्धाहरूले जवाफ दिए, “परमप्रभु हामी देख्न चाहन्छौं।” येशूलाई अन्धाहरूप्रति दया जाग्यो। उहाँले ती अन्धाहरूका आँखा स्पर्श गर्नुभयो अनि तिनीहरू देख्ने सक्ने भए। त्यसपछि तिनीहरू येशूलाई पछ्याउन लागे।