अय्यूबको पुस्तक 30
30
1“तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्।
अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि,
म तिनीहरूलाई कुकुरहरूसँग मेरो भेंडाको रक्षा गर्नलाई राख्थें।
2ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि,
तिनीहरूले मलाई सघाउन सक्थेनन्।
तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कमजोर भइसकेका थिए।
3तिनीहरू मृत मानिसहरू जस्ता थिए,
तिनीहरू खान नपाएर भोकै थिए।
यसैले तिनीहरू मरुभूमिको सूख्खा धुलोहरू खान्थें।
4तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्दथिए,
तिनीहरूले काँसका जराहरू खान्थे।
5तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्।
मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्।
6तिनीहरू सूख्खा नदीका किनारहरूमा,
पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ।
7झाडीहरूमा तिनीहरू चिच्याउँछन्,
अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्।
8तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन्,
जो आफ्नो देशबाट जबरजस्ती निकालिए।
9“अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्।
मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ।
10ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन।
तिनीहरू सोच्छन् कि तिनीहरू म भन्दा राम्रा छन्।
तिनीहरूले मेरो मुखमा पनि थुक्छन्।
11परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो।
ती मानिसहरूले आफैं थामिदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।
12ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्।
म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु
तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्।
13भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन।
तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए।
तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्।
14तिनीहरूले भित्तामा प्वाल बनाउँछन् तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन
अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
15म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्।
मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ।
16“अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु।
पीडित दिनहरूले मलाई पक्रेकोछ।
17मेरो हड्डीहरू पीडाले राती दुख्छ।
मलाई कष्टले चपाउन कहिल्यै छाड्दैन।
18परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ
अनि बटारेर रूप बिगारिदिनु हुन्छ।
19परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो
र म धूलो र खरानी जस्तै भएकोछु।
20“हे परमेश्वर,
सहायताको लागि मैले पुकारें,
म उठें र प्रार्थना गरें,
तर तपाईंले मलाई ध्यान दिनु भएन।
21हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ।
मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ।
22हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो।
मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ।
23मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ,
त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ।
24“तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ,
त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन।
25तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रोएँ।
तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो।
26जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ।
जब मैले उज्यालो खोजें, अंध्यारो आयो।
27म भित्र कष्ट कहिल्यै रोकिँदैन
अनि दुःख भर्खरै शुरू भएको छ।
28म सधैँ दुःखी र उदासीन छु कुनै चैन छैन।
म सहायताको लागि सभामा उभिन्छु।
29म जङ्गली कुकुर जस्तै
र मरुभूमिको शुतुरमुर्ग जस्तै एक्लो भएको छु।
30मेरो छाला जलेकोछ र उप्किँदैछ।
ज्वरोले मेरो शरीर तातो छ।
31मेरो वीणाले करूणाको लय निकाल्छ
मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ।
अहिले सेलेक्ट गरिएको:
अय्यूबको पुस्तक 30: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International