YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 2:1-10

अय्यूबको पुस्तक 2:1-10 NERV

अर्को दिन स्वर्गदूतहरू परमप्रभुसित भेट गर्न आए। शैतान पनि परमप्रभुसित भेट गर्न आयो। परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?” शैतानले जवाफ दियो, “म पृथ्वी वरिपरि घुमरहेको थिएँ।” तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई कतै देखिस्? अय्यूब जस्तो यस पृथ्वीमा अन्य कोही मानिस छैन। अय्यूब एक असल र ईमान्दारी मानिस हो। उसले परमेश्वरको आराधना गर्दछ र नराम्रा कुराहरू गर्न देखि टाढा बस्छ। तैंले मलाई उसित भएको प्रत्येक चीज कुनै कारण बिनै ध्वंश पार्ने सुझाव दिएता पनि अझ उसले सही काम नै गर्छ।” शैतानले जवाफमा भन्यो, “चामको साटो चामलाई! एउटा मानिसले आफ्नो जीवन रक्षा गर्नका लागि सारा कुरा प्रदान गर्दछ। यदि तपाईंले आफ्नो शक्ति उसको शरीरलाई चोट पुर्याउनु भयो भने, तब उसले तपाईंको मुखकै सामुन्ने तपाईंलाई सराप्ने छ।” यसकारण परमप्रभुले शैतानलाई भन्नुभयो, “ठीक छ, अय्यूब तिम्रो अधीनमा छ। तर उसलाई मार्ने अनुमति भने तँलाई छैन।” तब शैतान परमप्रभुबाट विदा भयो। शैतानले अय्यूबलाई कष्टमय घाउहरू गराई दियो। पीडामय घाउहरू अय्यूबका खुट्टा देखि टाउकोसम्म शरीरभरि थियो। यसैले जहाँ खरानी थुपारिएको थियो त्यहाँ अय्यूब बसे। माटोको खपेटा लिएर आफ्नो घाउहरू कन्याउन थाले। अय्यूबको पत्नीले उसलाई भनी, “अझ तपाईं परमेश्वरप्रति ईमान्दार हुनुहुन्छ? किन तपाईं परमेश्वरलाई सरापेर मर्नु हुन्न!” अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले सङ्कटहरू पनि ग्रहण गर्नुपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।