YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 4:4-26

यूहन्नाको सुसमाचार 4:4-26 NERV

गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो। सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो। एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए। सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।” त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।” येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।” त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।” येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।” त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।” त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।” येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।” त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।” तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”