YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 9

9
1यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो,
अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भनें,
म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
2यदि मरुभूमिमा यात्री झैं
रात बिताउने ठाँउ मेरो भए
म मेरा मानिसहरूलाई छाडिदिने थिएँ
र तिनीहरूबाट टाढो गएको हुन्थे।
किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्।
तिनीहरू सबै उहाँका विरोधमा उठे।
3“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्ग्याउँछन्,
अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्।
झूटो मात्र, सत्य हैन।
त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन।
यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन।
तिनीहरूले मलाई चिन्दैनन्।”
परमप्रभुले यसो भन्नुभयो।
4“आफ्ना छिमेकीहरूलाई हेर।
कुनै आफन्तहरूलाई विश्वास नगर।
किनभने हरेक आफन्तहरू कपटी छ।
हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
5हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ।
कसैले पनि साँच्चो बोल्दैन।
यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई
झूटो बोल्न प्रशिक्षण गराउँछन्।
तिनीहरूले नथाकुन्जेल सम्म पाप गरे।
6एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्‌यायो।
अनि झूटोले झूटै पछ्‌यायो।
मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।”
परमप्रभुले ती कुराहरू भन्नुभयो।
7सेनाहरूका परमप्रभु भन्नहुन्छ,
“म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।#9:7 म तिनीहरूलाई … गर्छु शुद्ध परिणाम जान्नलाई एकजना कर्मीले धातु आगोमा गाल्छ। त्यसरी नै म यहूदाका मानिसहरूलाई जाँच्नेछु।
मेरोमा अन्य तरिका छैन।
मेरा मानिसहरूले पाप गरे।
8यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्।
तिनीहरू मुखले झूटो बोल्दछन्।
हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्,
तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
9मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।”
यो परमेश्वरबाट आएको सन्देश हो,
“के मैले यसप्रकारको जातिलाई
सजाय दिनु पर्दैन?”
10म पर्वतहरूलाई चिच्याएर कराउनेछु।
म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु
कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन्,
र त्यहाँबाट कोही पनि हिँड्दैनन्।
गाई-गोरूहरू रमेको आवाजहरू अब त्यहाँ सुन्न सकिँदैन।
चराचुरूङ्गी सबै उडेर गइसके,
अनि पशुहरू पनि गइसके।
11परमप्रभु भन्नुहुन्छ, “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु।
यो स्यालहरूको घर हुनेछ।
म यहूदाका शहरहरू विनाश गर्नेछु
ताकि त्यहाँ कोही बस्ने छैन।”
12के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्?
त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ
र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ?
किन यस भूमि नष्ट पारियो अनि
सूख्खा मरुभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
13परमप्रभुले भन्नुभयो,
“किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे्
अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिँड्दैनन्।
14यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए।
तिनीहरू हठ्ठी थिए।
तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले
जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
15यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ,
“म तिनीहरूलाई तीतो भोजन खाने
र विषालु पानी पिउने बनाउनेछु।
16म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा
जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले
जान्दथे तितर-बितर पारिदिनेछु।
तिनीहरू सम्पूर्ण रूपले नष्ट नहुन्जेलसम्म,
म तिनीहरूको पछि तरवार पठाउनेछु।”
17यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ
“अब, यी कुराहरूबारे विचार गर।
ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ।
ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
18‘तिनीहरूले हतार गरून
र हाम्रा निम्ति रोइदिउन।
तब हाम्रा आँखाहरू
आँसूले भरिनेछन्,
अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
19“विलापको स्वरहरू सियोनबाट सुनियो,
‘हामी साँचि नै नष्ट भयौं।
हामी लज्जित छौं
कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ,
किनभने हाम्रो घरहरू भत्काइयो।
अहिले हाम्रा घरहरू ढुङ्गाका टुक्राहरू मात्र भएका छन्।’”
20अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन।
परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ।
हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ:
21‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ।
हाम्रा किल्लाहरूमा मृत्यु आयो।
यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई
र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’”
22यी कुराहरूको घोषणा गर:
“परमप्रभु भन्नुहुन्छ, ‘मतृ शरीरहरू भूईँमा गोबर जस्तै छरिएको हुनेछ।
तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन्
जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।’”
23परमप्रभु भन्नुहुन्छ,
“ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्।
बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्।
धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
24तर यदि कसैले गर्व गर्छ भने, उसले यस विषयमा गर्व गरोस्।
म परमप्रभुलाई चिन्छु र जान्दछु
र उहाँ नै परमप्रभु हुनुहुन्छ,
जसले पृथ्वीमा न्याय, दया
र र्धमिकताको व्यवहार गर्नुहुन्छ।
किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
25यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु। 26म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन् अनि तिनीहरू सबै जो जङ्गलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”

अहिले सेलेक्ट गरिएको:

यर्मियाको पुस्तक 9: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्