YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 29:4-14

यर्मियाको पुस्तक 29:4-14 NERV

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले यरूशलेम देखि बाबेल सम्म कैद भएका ती मानिसहरूलाई यी कुराहरू भन्नु भएको थियो “घरहरू बनाऊ र त्यसमा बस्। बारीहरू बनाऊ र बिरूवाहरू रोप र फलहरू खाऊ। विवाह-बारी गरेर छोरा-छोरीहरू जन्माऊ। आफ्ना छोराहरूको लागि बुहारीहरू रोज। त्यसो गर्दा तिनीहरूले पनि छोरा-छोरीहरू जन्माउनेछन्। त्यहाँ सन्तान बढाऊ, नघटाऊ। शहरमा पनि असल कार्यहरू गर जसका निम्ति मैले तिनीहरूलाई पठाएँ। जहाँ तिमीहरू बसिरहेकाछौ त्यस शहरका निम्ति परमप्रभुसित प्रार्थना गर। किनभने यदि त्यहाँ शान्ति छाए तिमीहरू पनि शान्तिसित बस्नु सक्छौ।” सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “तिमीहरूका अगमवक्ताहरू र मंत्र-तंत्रगर्नेहरूले तिमीहरूलाई धोका नदिऊन्। तिनीहरूले देखेका सपनाका कुराहरूमा ध्यानै नदेऊ। तिनीहरूले मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। अनि तिनीहरूले भनिरहेका छन्। तर मैले तिनीहरूलाई पठाएको होइन।” यो सन्देश परमप्रभुबाट आएको छ। परमप्रभु यो भन्नुहुन्छ “बाबेल सत्तरी बर्ष सम्म शक्तिशाली रहनेछ। त्यसपछि म तिमीहरूकहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काई ल्याउने मेरो प्रतिज्ञा पूरा गर्नेछु। म यसो भन्छु किनभने तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु।” यो परमप्रभुबाट आएको सन्देश हो, “मसँग तिमीहरूको लागि राम्रो योजनाहरू छ। म तिमीहरूलाई चोट पुर्याउने योजना बनाउँदिन। मैले तिमीहरूलाई आशा र असल भविष्य दिने योजना गरेको छु। त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु। तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ। म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”