YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरूको पुस्तक 8:1-21

न्यायकर्ताहरूको पुस्तक 8:1-21 NERV

एप्रैमका मानिसहरू गिदोनसँग क्रोधित भए। जब एप्रैमका मानिसहरूले गिदोनलाई भेट्टाए तिनीहरूले गिदोनलाई सोधे, “तिमीले हामीसँग किन यस्तो व्यवहार गर्यौ? तिमीले किन हामीलाई बोलाएनौ जब तिमी मिद्यानका मानिसहरूको विरूद्ध युद्ध गर्न गयौ?” तर गिदोनले एप्रैमका मानिसहरूलाई उत्तर दिए, “म कसरी तिमीहरूले गरेको भन्दा अझ राम्रो गर्न सक्छु? के एप्रैमको शिला गरेको दाख, मेरो परिवार अबीएजेरको दाखकटनी भन्दा असल छैन र? यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएनन्। जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए। गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।” तर सुक्कोत शहरका अधिकारीहरूले गिदोनलाई भने, “तिम्रो सैनिकहरूलाई हामीले केही खाने कुरा किन दिनु? तिमीहरूले जेबह अनि सल्मुन्नालाई पक्रेका छैनौ।” तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरुभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।” गिदोन सुक्कोत शहर छोडेर पन्‌एल शहर तिर गए। गिदोनले पन्‌एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्‌एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए। यसर्थ गिदोनले पन्‌एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।” जेबह अनि सल्मुन्ना अनि तिनीहरूका सेनाहरू कर्कोर शहरमा थिए। तिनीहरूका सेनामा 15,000 सैनिकहरू थिए। यी सबै सेनाहरू पूर्वमा छोडीएका मानिसहरूका बाँकीरहेका सैनिकहरू थिए। त्यस सेनाका 1,20,000 स-शस्त्र सैनिकहरू मारिएका थिए। गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भन्ने ठानेका थिएनन्। जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे। तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए। गिदोनले सुक्कोत शहरमा एउटा जवान व्यक्तिलाई कब्जा गरे। गिदोनले त्यस जवान व्यक्तिसित केही प्रश्नहरू सोधे। त्यो जवान व्यक्तिले गिदोनका निम्ति केही नाउँहरू लेखिदिए। त्यो जवान व्यक्तिले सुक्कोत शहरका अगुवाहरू अनि बूढा-प्रधानहरूका नाउँहरू लेखिदिए। ती 77 जना मानिसका नाउँहरू दिए। त्यसपछि गिदोन सुक्कोत शहरमा आए। तिनले त्यस शहरका मानिसहरूलाई भने, “जेबह अनि सल्मुन्ना यहाँछन्। तिमीहरूले, ‘तिम्रा थाकेका सैनिकहरूलाई किन हामीले खाना दिनु? तिमीले जेबह अनि सल्मुन्नालाई अझ पक्रेका छैनौ’ भनेर मेरो खिल्ली उडाएका थियौ।” गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे। गिदोनले पन्‌एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए। तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?” जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।” गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाइहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।” त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन। तब जेबह अनि सल्मुन्नाले गिदोनलाई भने, “अघि आऊ अनि तिमी स्वयं हामीलाई मार। तिमी एक मानिस हौ अनि यो काम गर्न बलियो छौ।” यसर्थ गिदोन उठे जेबह र सल्मुन्नालाई मारिदिए। त्यसपछि गिदोनले जून जस्तो आकृतिको सजावट तिनीहरूका ऊँटका गलाबाट निकालिदिए।