न्यायकर्ताहरूको पुस्तक 10
10
न्यायकर्ता तोला
1अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो। 2तोला तेईस बर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।
न्यायकर्ता याईर
3तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस बर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्ता भए। 4याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्। 5याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।
अम्मोनीहरू इस्राएल विरूद्ध युद्धगर्छन्
6फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।
7यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्रोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरूद्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो। 8त्यसै बर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार बर्षसम्म दुःख भोगे। 9अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।
10यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसँग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”
11परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ। 12जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ। 13तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु। 14तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”
15तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।” 16तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।
यिप्तह प्रमुखको रूपमा चुनिए
17अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो। 18गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्रमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”
अहिले सेलेक्ट गरिएको:
न्यायकर्ताहरूको पुस्तक 10: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International