YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 42:18-38

उत्पत्तिको पुस्तक 42:18-38 NERV

तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु। यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्। तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँच्चो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।” दाज्यू-भाइहरू यसमा सहमत भए। तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।” त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।” आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के-के कुरा गरे तिनले सुने र बुझे। तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे। यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए। यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरा गधामा लादेर त्यहाँबाट हिंडे। त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो। उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?” कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए। तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने। तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं। हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ। “तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क। त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँच्चो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।’” त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए। याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।” तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।” तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”