YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 23

23
मानिसहरू जो पूजामा भाग लिनु सक्छन्
1“गुप्ताअंग कुच्चिएका अथवा लिङ्ग काटिएका मानिसहरूले इस्राएलका मानिसहरूसँग परमप्रभुको पूजामा भाग लिन सक्दैनन्। 2यदि कसैको माता-पिताको विधिपूर्वक विवाह भएको छैन। तिनीहरू पूजामा सम्मिलित हुन पाउने छैनन्। दश पुस्तासम्म तिनीहरूका सन्तानहरूले पनि पूजामा मिसिन पाउने छैनन्।
3“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्। 4किनभने तिनीहरूले मिश्र देशबाट निएलेर यात्रा गरेको समयमा तिमीहरूलाई रोटी र पानी दिन अस्वीकार गरेका थिए। तिनीहरूले मेसोपोटामियामा पतोरको शहरमा बस्ने बओरको छोरा बिलामलाई तिमीहरूलाई सराप्नुको निम्ति पैसा दिएर बोलाए। 5तर परमप्रभु तिमीहरूका परमेश्वरले बिलामका कुरा सुन्नु भएन र तिनको सराप परमप्रभुले तिमीहरूको निम्ति आशीर्वादमा परिणत गरिदिनु भयो। कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो। 6जबसम्म तिमीहरू बाँचिरहन्छौ तबसम्म अम्मोनी र मोआबीहरूसित कहिल्यै सन्धि स्थापित गर्नु हुँदैन तथा कदापि तिनीहरूसित मैत्री संन्धि गर्नु हुँदैन।
इस्राएलीहरूले स्वीकार्नु पर्ने मानिसहरू
7“तिमीहरूले एदोमीहरूलाई घृणा गर्नु हुँदैन कारण उनीहरू तिमीहरूको सम्बन्धीहरू हो। तिमीहरूले मिश्रीहरूलाई घृणा गर्नु हुँदैन कारण तिनीहरूको भूमिमा तिमीहरू विदेशी थियौ। 8एदोमीहरू र मिश्र देशवासीहरूका तेस्रो पुस्ताका सन्तानहरूबाट इस्राएलीहरूसित परमप्रभुको पूजामा सामेल हुनु सक्छन्।
सिपाहीहरूको छाउनी सफा राख्नु
9“जब तिमीहरूका सिपाहीहरू आफ्नो शत्रुहरूसँग लड्न युद्ध गर्न जान्छन प्रत्येक चीजबाट टाढामा बस्नुपर्छ जसले तिमीहरूलाई अशुद्ध बनाउँछ। 10यदि तिमीहरूमध्ये केही स्वप्न दोषले अशुद्ध भएका छौ भने उसले छाउनी बाहिर जानु पर्छ। 11जब बेलुकी हुन्छ उसले पानीमा नुहाउनु पर्छ अनि सूर्य अस्तापछि ऊ फेरि छाउनीमा फर्किन सक्छ।
12“तिमीहरूले छाउनी बाहिर यस्तो ठाउँ पनि बनाउनु पर्छ जहाँ तिमीहरू दिसा गर्न सक्छौ। 13तिमीहरूले आफ्ना अरू हतियारसँगै एउटा खन्ती पनि राख्नु पर्छ र जब दिसा लाग्छ खाडल खन्नु पर्छ अनि दिसा गरी त्यसलाई पुर्नु पर्छ। 14किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।
अरू नियमहरू
15“यदि कुनै कमारो भागेर तिमीहरूकहाँ आफ्नो मालिकलाई छोडेर आउँछ, तिमीले उसलाई उसको मालिककहाँ फर्काउनु हुँदैन। 16आफ्नो इच्छा अनुसार उसले कहाँ मन पराउँछ, जुन शहर उसले रोज्छ, त्यहीं बस्न सक्छ। तिमीले उसलाई कष्ट दिनु हुँदैन।
17“एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुन सक्तैन। 18त्यस पुरूष अथवा स्त्रीले कमाएको धन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पुर्याउनु हुँदैन, त्यस्तो कार्यबाट कमाएको धन परमप्रभुकोलागि उपयोग गर्नु हुँदैन।
19“जब तिमीहरूले कुनै अर्को इस्राएलीलाई ऋण दिन्छौ, उसबाट ब्याज तिमीहरूले लिनु हुँदैन। त्यो ऋण खानेकुरा पैसा अथवा जे पनि होस्। 20तिमीहरूले आफ्नो इस्राएली भाइलाई दिएको ऋणमा ब्याज लगाउनु हुँदैन तर कुनै विदेशीलाई दिएको ऋणमा ब्याज लगाउन सक्छौ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले दिनुभएको भूमिमा प्रवेश गर्नु लागेको छौ अनि तिमीहरूले जे गर्छौ त्यसमा परमप्रभु तिमीहरूका परमेश्वरले आशीर्वाद दिनुहुन्छ।
21“परमप्रभु तिमीहरूका परमेश्वरलाई चढाउँछु भनी जे भाकल गर्छौ त्यो चढाउनमा ढिलो नगर किनभने परमप्रभु तिमीहरूका परमेश्वरले त्यो दावी गर्नुहुन्छ र यदि आफूले गरेको भाकल पूरा गर्न नसके तिमीलाई पाप लाग्नेछ। 22तर यदि भाकल गरेका छैनौं भने त्यो पाप लाग्ने छैन। 23तर आफूले गर्छु भनेको कुरो पूरा गर्नै पर्छ। यदि कुनै विशेष कुरो चढाउँछु भनी विषेश भाकल गरे त्यो तिमीहरूले पूरा गर्नु नै पर्छ। परमेश्वरले तिमीहरूलाई भाकल गर्न लगाउनु भएको होइन, यसकारण आफूले गरेको भाकल पुरा गर्नै पर्छ।
24“जब तिमी कसैको दाखबारी भएर जान्छौ तिमीले जति खान सक्छौ त्यहीं टिपेर खान सक्छौ तर आफ्नो डालोमा हालेर घर लान सक्दैनौ। 25जब तिमी अरू मानिसको अन्नको खेत भएर कतै जान्छौ तिमीले सकेको अन्न टिपेर खान सक्छौ तर हँसियाले अन्न काटेर घर लिएर जान सक्दैनौ।

अहिले सेलेक्ट गरिएको:

व्यवस्थाको पुस्तक 23: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्