यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले। तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ। महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ। अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।”
यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए। नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ? अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”
शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं। यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ। तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”
यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो। त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।
सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए। रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए। ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।
त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?”
तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”
तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडेको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”