त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरून्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।
युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए। तर जोनाथनलाई शपथ बारे केही थाह थिएन। जोनाथनले आफ्ना पिताले जबरजस्ती मानिसहरूलाई शपथ खुवाएको कुरा सुनेका थिएनन्। एउटा लट्टी जोनाथनसँग थियो। उनले महको चाकामा लट्टी घुसारे र लठ्ठीमा मह ल्याएर केही मह खाए र फूर्तिलो अनुभव गरे।
एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”
जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ। आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”
त्यस दिन इस्राएलीहरूले पलिश्तीहरूलाई हराए। तिनीहरू मिकमाश देखि अय्यालोन सम्मका बाटोभरी लडे। यसैले मानिसहरू थकित र भोका थिए। तिनीहरूले पलिश्तीहरूबाट भेंडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो।
शाऊललाई एउटा मानिसले भन्यो, “हेर्नुहोस्! मानिसहरूले परमप्रभुको विरूद्धमा पाप गर्दैछन्। तिनीहरूले रगतै समेत मासु खाँदैछन्!”
शाऊलले भने, “तिमीहरूले पाप गर्दैछौ। यहाँ एउटा ठूलो ढुङ्गालाई पल्टाऊ।” फेरि शाऊलले भने, “मानिसहरूलाई गएर भन कि प्रत्येक मानिसले साँढे र भेंडा लिएर मकहाँ आओस्। यहाँ तिनीहरूले आफ्ना साँढे र भेंडा मार्नुपर्छ। परमप्रभु विरूद्ध पाप काम नगर! रगतै समेतको मासु नखाओ।”
त्यस रात प्रत्येकले आ-आफ्नो पशुहरू ल्याएर त्यहाँ मारे। शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैंले वेदी बनाउन शुरू गरे।
शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्ने छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।”
सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।”
तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”
यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।
यसले गर्दा शाऊलले भने, “सबै नेताहरूलाई मेरो समक्ष बोलाउनु, आज कसले पाप काम गर्यो, बुझौ। म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्।
यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।”
सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।”
तब शाऊलले प्रार्थना गर्न लागे, “परमप्रभु, इस्राएलको परमेश्वर, तपाईंले दासलाई आज किन जवाफ दिनुभएन, यदि मैले अथवा मेरो छोरा जोनाथनले कुनै पाप गरेको भए परमप्रभु इस्राएलका परमेश्वर ऊरीम दिनुहोस्। यदि तपाईंका इस्राएली मानिसहरूले पाप गरेका भए तुम्मीम दिनुहोस्।”
यस प्रकारले शाऊल र जोनाथन चुनिएका थिए अन्य मानिसहरू चुनिएका थिएनन्। शाऊलले भने, “अब म र मेरो छोरामा कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।
शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।”
जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?”
शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”
तर सबै सैनिकाहरूले भने, “आज जोनाथनले इस्राएललाई विजयी गरायो। के जोनाथन मर्नै पर्ने? होइन! हामी जीवित परमेश्वरको नाउँमा शपथ खान्छौ कि जोनाथनलाई कसैले हानि गर्न सक्दैन, उसको शिरको एउटा केशसम्म कसैले हल्लाउन सक्ने छैन। परमेश्वरले आज पलिश्तीहरूसँगको युद्धमा जोनाथनलाई सहायता गर्नुभएको छ।” यसरी मानिसहरूले जोनाथनलाई बचाए। तिनलाई मृत्युदण्ड दिइएन।
शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए।
शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसँग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए। शाऊल अत्यन्तै साहसी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए।
शाऊलको छोराहरू जोनाथन, यिश्वी र मल्कीशूअ थिए। शाऊलकी जेठी छोरीको नाउँ मेराब र कान्छी छोरीको नाउँ मीकल थियो। शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्।
शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए। शाऊलका पिता कीश र अबनेरका पिता नेरचाहि अबीएलका छोराहरू थिए।
शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।