YouVersion लोगो
खोज आइकन

जकरिया 5

5
उडिरहेको कागजको मुट्ठोको दर्शन
1मैले फेरि हेरें र यस पटक चाहिँ एउटा कागजको मुट्ठो हावामा उडिरहेको देखें। 2तिमी के देख्‍दै छौ भनी मलाई स्‍वर्गदूतले सोधे। मैले जवाफ दिएँ, “म हावामा उडिरहेको एउटा कागजको मुट्ठो देख्‍दै छु। त्‍यो नौ मिटर लामो र साढे चार मिटर चौडा छ।”
3तब स्‍वर्गदूतले मलाई भने, “सारा देशमा पर्न लागेको सरापको बारेमा त्‍यसमा लेखिएको छ। त्‍यसको एकापट्टि सबै चोरहरू देशबाट धपाइने भनी लेखिएको छ र अर्कापट्टि शपथ खाई झूटा बोल्‍नेहरू पनि धपाइनेछन् भनी लेखिएको छ। 4सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ कि म यो सराप पठाउनेछु र हरेक चोरको घर र मेरो नाममा शपथ खाई झूट बोल्‍ने हरेकको घरमा यो सराप पस्‍नेछ। ती घरहरूमा यो सराप रहनेछ र ध्‍वंस पार्नेछ।”
डोकोमा बसेकी स्‍त्रीको दर्शन
5मसित कुरा गर्ने स्‍वर्गदूत फेरि देखा परे र भने, “हेर, अर्को केही कुरो फेरि आइरहेको छ।”
6“त्‍यो के हो?” मैले सोधें।
उनले उत्तर दिए, “त्‍यो एउटा डोको हो र त्‍यसले सारा देशको पाप जनाउँछ।”
7डोकोमा सिसाको ढकनी लगाइएको थियो। मैले हेर्दाहेर्दै ढकनी उघ्रियो र डोकोभित्र एउटी स्‍त्री बसिरहेकी रहेछ।
8स्‍वर्गदूतले भने, “यो स्‍त्री दुष्‍ट्याइँको नमुना हो।” त्‍यसपछि उनले स्‍त्रीलाई ठेलेर डोकोभित्र हाले र ढकनी बन्‍द गरिदिए। 9मैले माथि हेरें र दुई जना आइमाईहरूलाई मतिर उडेर आइरहेका देखें। ती आइमाईहरू सारसका जस्‍ता बलिया पखेटाका भरमा उड्दै थिए। तिनीहरूले त्‍यो डोको टिपेर उडाइलगे।
10मैले स्‍वर्गदूतलाई सोधें, “तिनीहरूले त्‍यो डोको कहाँ लैजाँदै छन्?”
11उनले जवाफ दिए, “बेबिलोनमा र त्‍यहाँ त्‍यसको निम्‍ति तिनीहरूले एउटा घर बनाउनेछन्। त्‍यो घर बनाइसकेपछि डोको पुज्‍नलाई त्‍यसको ठाउँमा राखिनेछ।”

अहिले सेलेक्ट गरिएको:

जकरिया 5: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्