श्रेष्ठगीत 8
8
1एउटै आमाको दूध खाई हुर्केका,
तिमी मेरा साख्खै दाजु हुँदा हौ ता
बाटोमा भेट हुँदा पनि
म तिमीलाई म्वाइँ खानेथिएँ,
र कसैले केही आपत्ति गर्ने थिएन।
2तिमीलाई म मेरी आमाको घरमा लैजानेथिएँ
र त्यहाँ तिमीले मलाई प्रेम गर्न सिकाउने थियौ।
म तिमीलाई मसला हालेको दाखमद्य,
अँ, दारिमबाट बनेको मद्य पिउन दिनेथिएँ।
3तिम्रो देब्रे हात मेरो शिरमुनि छ
र दाहिने हातले मलाई माया गर्दै मुसार्दछ।
4हे यरूशलेमका स्त्रीहरू हो,
मसित वाचा बाँध
कि हाम्रा प्रेमको निद्राबाट तिमीहरूले हामीलाई जगाउनेछैनौ।
छैटौँ गीत
स्त्रीहरू:
5आफ्ना प्रियतमको हात समातेर
त्यो मरु-भूमिबाट आउने को हो?
स्त्री:
स्याउको रूखमुनि मैले तिमीलाई निद्राबाट जगाएँ,
तिमी जन्मेकै ठाउँमा मैले त्यसरी तिमीलाई जगाएँ।
6तिम्रो हृदयमा मेरो प्रेम छोडी अरू कसैलाई ठाउँ नदेऊ,
तिम्रो अँगालोमा मबाहेक अरू कसैलाई नलेऊ।
प्रेम मृत्युजस्तै बलियो छ,
तिर्सनाचाहिँ त्यस्तै शक्तिशाली छ।
त्यो ज्वाला भई निस्कन्छ
र दन्केको आगोझैँ दन्किन्छ।
7पानीले त्यसलाई निभाउन सक्दैन।
बाढीले त्यसलाई डुबाउन सक्दैन।
कुनै मानिसले धन दिएर प्रेम किन्ने चेष्टा गर्यो भने
त्यसले तिरस्कार दिएर मात्र पाउनेछ।
स्त्रीका दाजुहरू:
8हाम्रो एउटी सानी बहिनी छे,
उसका स्तन उठेका छैनन्।
कोही ठिटो त्यसलाई फकाउन आए हामीले के गरौं?
9त्यो पर्खाल भएकी भए त
हामी त्यसमा चाँदीको धरहरा बनाउनेथियौं।
त्यो ढोका भएकी भए त
हामी देवदारुका फल्याकले बारेर त्यसको रक्षा गर्नेथियौं।
स्त्री:
10म पर्खाल हुँ,
मेरा स्तन त्यसका धरहरा हुन्।
मेरा प्रियतमले जान्दछन्
कि म उनीसित तृप्ति र शान्ति पाउँछु।
पुरुष:
11बाल-हामोन भन्ने ठाउँमा सोलोमनको एउटा दाखबारी छ।
किसानहरूले त्यो भाडामा लिएका छन्
र प्रत्येकले उनलाई एक हजार चाँदीका सिक्का दिन्छ।
12सोलोमनले ती हजार चाँदीका सिक्का लैजाऊन्,
ती किसानहरूले दुई सय सिक्का लेऊन्,
मेरो त आफ्नै दाखबारी छ।
13मेरी प्रियतमा, बगैंचामा म तिम्रो सोर सुन्न पाऊँ।
मेरा साथीहरू तिम्रो बोली सुन्न पर्खिरहेका छन्।
स्त्री:
14मेरा प्रियतम, मृगझैँ मकहाँ आऊ,
मसला उम्रेका पर्वतमा एउटा जवान जरायो आएझैँ तिमी मकहाँ आऊ।
अहिले सेलेक्ट गरिएको:
श्रेष्ठगीत 8: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.