YouVersion लोगो
खोज आइकन

रोमी 5:12-21

रोमी 5:12-21 सरल नेपाली

सृष्‍टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्‍यु ल्‍यायो र सबै मानिसमा मृत्‍यु फैलियो किनभने सबै मानिसले पाप गरे। परमेश्‍वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन। तैपनि आदमको समयदेखि व्यवस्था लेख्‍ने मोशाको समयसम्‍म मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। तिनीहरूले गरेको पाप आदमले परमेश्‍वरको खास आज्ञा नमानेको झैँ नभए पनि तिनीहरू मर्नुपर्‍यो। आदमले गरेको कामको फल सबै मानिसले पाएझैँ ख्रीष्‍टले गरेको कामको फल पनि सबैले पाउँछन्। यसरी आदम ख्रीष्‍टको नमुना भए। तर परमेश्‍वरको सित्तैंको दान र आदमको पापमा कति भिन्‍नता? यो ठीक हो। धेरै मानिस एकै जनाको पापको कारणले मरे; तर पछि आउनुभएका ख्रीष्‍टले त झन् परमेश्‍वरको अनुग्रहले धेरैधेरै मानिसहरूलाई सित्तैमा मुक्ति दिनुभयो। फेरि यो सित्तैको दानको फल एउटा मानिसले गरेको पापको फलजस्‍तो होइन। आदमको एउटै पापले गर्दा मानिसहरू दोषी ठहराइए र तिनीहरू सजायको भागी भए। तर मानिसहरूले धेरै पाप गरेपछि परमेश्‍वरले तिनीहरूलाई सित्तै निर्दोष ठहराउनुभयो। एउटा मानिसले पाप गर्दा मृत्‍युले सबै मानिसमाथि राज्‍य गर्‍यो। त्‍यसरी नै परमेश्‍वरले प्रशस्‍त दया गरेर मानिसलाई ठीक ठहराउनुभयो। यिनीहरू एउटै मानिस येशू ख्रीष्‍टद्वारा जिउनेछन् र विजयी जीवनमा राज्‍य गर्नेछन्। जसरी एउटै पापले सबै मानिस मृत्‍युदण्‍डका भागी भए, त्‍यसरी नै एउटै धार्मिक कामले सबै मानिस परमेश्‍वरको सामु ठीक ठहराइएर जीवन पाउने भए। एक जना आदमले आज्ञापालन नगर्दा धेरै जना पापी भए, त्‍यसै गरी एक जना ख्रीष्‍टको आज्ञापालनले धेरै जना परमेश्‍वरको सामु ठीक ठहरिने भए। पाप बढाउन व्यवस्था आयो। जहाँ पाप बढ्यो, त्‍यहाँ परमेश्‍वरको अनुग्रह झन् धेरै बढ्यो। त्‍यस बेला पापले मृत्‍युद्वारा मानिसमाथि राज्‍य गरेझैँ अहिले परमेश्‍वरको अनुग्रहले राज्‍य गर्दै छ। यही अनुग्रहले हामीलाई परमेश्‍वरको सामु ठीक ठहराएर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अजम्‍मरी जीवन दिंदै छ।

रोमी 5 पढ्नुहोस्