रोमी 11
11
इस्राएलीहरूको पाप र परमेश्वरको दया
1 #
फिलिप्पी 3:5
त्यसो भए के परमेश्वरले इस्राएलीहरूलाई त्याग्नुभयो? होइन, म आफैं पनि त अब्राहामको वंशमा जन्मिएको बेन्यामीन घरानाको इस्राएली हुँ। 2परमेश्वरले सुरुमै चिन्नुभएका यी मानिसहरूलाई त्याग्नुभएको छैन। धर्मशास्त्रले अगमवक्ता एलियाको बारेमा बताएको कुरा त तिमीहरूलाई थाहै छ। एलियाले इस्राएलीहरूको विरोधमा यसरी परमेश्वरलाई भनेका थिए, 3#१ राजा 19:10,14“प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे अनि तपाईंका बलि-वेदीहरू भत्काइदिए, बाँचेकोचाहिँ म नै हुँ र मलाई पनि तिनीहरू मार्न खोज्दै छन्।” 4#१ राजा 19:18परमेश्वरले उनलाई भन्नुभयो, “मैले मेरो लागि सात हजार मानिस जोगाइराखेको छु, तिनीहरूले बाल देवतालाई ढोग्न घुँडा टेकेका छैनन्।” 5यसरी नै अहिले पनि परमेश्वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्। 6यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन।
7त्यसो भए यसको अर्थ के भयो त? सबै इस्राएलीहरूले आफूले खोजेको कुरो पाएनन्। तर त्यही कुरो परमेश्वरले छान्नुभएका थोरै इस्राएलीहरूले मात्र पाए। अरू बाँकी इस्राएलीहरूचाहिँ कठोर भएर बसिरहे। 8#व्यवस्था 29:4; यशैया 29:10धर्मशास्त्रमा पनि लेखिएको छ,
“परमेश्वरले तिनीहरूलाई निद्राजस्तै थाहा नपाउने आत्मा दिनुभयो। अनि देख्तै नदेख्ने आँखा र सुन्दै नसुन्ने कान दिनुभयो र तिनीहरू अहिलेसम्म त्यस्तै दशामा छन्।” 9#भजनसंग्रह 69:22,23यसै गरी राजा दाऊद पनि भन्दछन्,
“तिनीहरूको भोज-भतेर,
पासो र धराप बनोस्।
10तिनीहरूका आँखाले देख्न नसक्ने गरी अन्धकारले छोपोस्
र तिनीहरूको ढाड नसोझिने गरी सधैँभरि कुप्रिरहोस्।”
11यसैकारण म भन्छु, तिनीहरू नाश हुने गरी ठेस खाएर लडेकै हुन् त? अहँ होइन। उनीहरू यसरी अविश्वासले लड्दा अन्यजातिका मानिसहरूले उनीहरूले पाउनुपर्ने मुक्ति पाए र इस्राएलीहरूले यो देखेर इख गरून् भन्ने परमेश्वरको इच्छा थियो। 12इस्राएलीहरूले अविश्वास गर्दा त अन्यजाति लगायत पूरै संसार मुक्तिको धनी भयो भने तिनीहरू सबैले विश्वास गरे भने झन् कस्तो होला?
अरू सबै जातिको मुक्ति
13तिमी अन्यजातिहरूको लागि विशेषगरी खटाइएको ख्रीष्टको प्रेरित हुँ र म यी कुराहरू तिमीलाई सुनाउँदछु। इस्राएलीहरूको अगाडि म यस कामको बढाइँ गर्छु। 14हुन सक्छ, यस कामले मेरा आफ्नै जातिका मानिसहरू पनि तिमीहरूसँग इख गरेर कोही-कोहीचाहिँ परमेश्वरतर्फ फर्कि पो हाल्छन् कि? 15किनभने तिनीहरू त्यागिंदा त दुनियाँ परमेश्वरको मित्र बनियो भने तिनीहरूलाई आफ्नै बनाउँदा झन् के हुन्छ? तिनीहरूले मरेर पनि जीवन नै पाउनेछन्।
16यदि रोटी हाल्न मुछेको पिठोबाट केही भाग परमेश्वरलाई चढाइयो भने त्यसको भागबाट हालेको रोटी जम्मै चढाएको जत्तिकै हुन्छ। त्यस्तै रूखको जरा पवित्र छ भने सबै हाँगा पनि पवित्र हुन्छ। 17त्यस्तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ। 18त्यसकारण तिमीले ती भाँचिएर गएका हाँगाजस्ता इस्राएलीहरूलाई घृणा गर्नुहुँदैन अनि तिनीहरूभन्दा आफैंलाई असल नसम्झ किनभने तिमीहरू हाँगा मात्र होइनौ, तिमीहरूले जरालाई थामेका छैनौ; तर जराले तिमीहरूलाई थामेको छ।
19तर तिमी भन्छौ होला, “म कलमी बाँधिन ती हाँगा भाँचिएका थिए।” 20यो साँचो हो तिनीहरूले विश्वास गरेनन् र तिनीहरू भाँचिएर गए, तर त्यसको ठाउँमा तिमीहरूले विश्वास गर्यौ र कलमी बाँधिएका छौ। यस बारेमा घमण्डले नफुल तर होशियार होओ। 21परमेश्वरले साँचो हाँगाहरूलाई त बाँकी राख्नुभएन भने तिमीहरूलाई पनि छोड्नुहुनेछैन नै। 22परमेश्वर कति दयालु र कति कठोर पनि हुनुहुन्छ, विचार गरिहेर। उहाँ विश्वास नगर्नेहरूका लागि कठोर हुनुहुन्छ। तर तिमीहरू उहाँको अनुग्रहमा शरण लिएर बसिरह्यौ भने उहाँ दयालु हुनुहुनेछ। नत्र तिमीहरू काटिएका हाँगाझैँ फालिनेछौ। 23यदि इस्राएलीहरूले अविश्वास छोडेर विश्वास गर्न थाल्छन् भने पहिले भएकै ठाउँमा हाँगाझैँ फेरि जोरिनेछन् किनभने परमेश्वरले फेरि तिनीहरूलाई जोर्न सक्नुहुन्छ। 24अरू जातिका मानिस तिमीहरूचाहिँ जङ्गली जैतुनको रूखबाट काटिल्याएका हाँगाजस्तै छौ। त्यसो हुँदा स्वभावअनुसार नमिल्ने भए पनि बारीमा लगाएको जैतुनको हाँगामा गाँसिएका छौ। इस्राएलीहरूचाहिँ बारीमा भएको जैतुनको हाँगाजस्तै हुन्। यसो हुँदा तिनीहरूलाई फेरि ल्याएर जोर्नु परमेश्वरको लागि झन् सजिलो हुन्छ।
सबैमाथि परमेश्वरको अनुग्रह
25दाजुभाइहरू हो, एउटा रहस्य तिमीहरूलाई थाहा होस् भन्ने म चाहन्छु। त्यो तिमीहरूलाई थाहा भयो भने तिमीहरूले आफ्नै लागि घमण्ड गर्नेछैनौ। यो रहस्य यस्तो छ, आउनुपर्ने जति अन्यजातिहरू ख्रीष्टमा नआउञ्जेल मात्र इस्राएलीहरूको हृदय कठोर हुनेछ। 26#यशैया 59:20,21त्यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्त्रमा लेखिएको छ,
“सियोनदेखि मुक्तिदाता आउनुहुनेछ,
याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।”
27 #
यशैया 27:9
अनि प्रभु भन्नुहुन्छ,
“तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।”
28सुसमाचारमा विश्वास नगरेकोले नै कोही इस्राएलीहरू परमेश्वरका शत्रु भएका हुन्। त्यसले गर्दा तिमीहरूलाई चाहिँ फाइदा भएको हो अनि परमेश्वर आफैंले छान्नुभएको हुनाले र पुर्खाहरूको कारणले गर्दा परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्छ 29किनभने परमेश्वरले आफूले दिनुभएका दानहरू फिर्ता लिनुहुन्न र बोलाइसकेकालाई कहिल्यै पनि त्याग्नुहुन्न। 30उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्वरको दया तिमीहरूले पाएका हौ। 31आज अट्टेरी गरेर बस्नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्वरले तिमीहरूलाई दया देखाउनुभयो। 32सबै मानिसहरूलाई दया देखाउन परमेश्वरले सबैलाई तिनीहरूकै अट्टेरीपनमा बन्द गरिदिनुभयो।
परमेश्वरको स्तुति र आदर
33 #
यशैया 55:8
अहो परमेश्वरको धन कति प्रशस्त! उहाँको ज्ञान, बुद्धि कति गहिरो छ! उहाँले निधो गरेका कुराको कसले बयान गर्न सक्छ? उहाँले हिंडेको बाटो कसले पत्ता लगाउन सक्छ?
34 #
यशैया 40:13
परमेश्वरको मन कसले बुझ्ने?
अथवा उहाँलाई सल्लाह दिने को छ र?
35 #
अय्यूब 41:11
कसले परमेश्वरलाई केही चीज दिएको छ
र उहाँले कसलाई के फर्काउनुपर्छ र?
36 #
१ कोरिन्थी 8:6
सबै उहाँकै सृष्टि हुन्। ती सबै थोक उहाँद्वारै उहाँकै निम्ति हुन्। उहाँको जय-जयकार सधैँभरि होइरहोस्! आमेन।
अहिले सेलेक्ट गरिएको:
रोमी 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.